उप समितिले टुङग्यायो सूचना प्रविधि विधेयक, बहादुरको असहमति


काठमाडौं – सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे गठित उप समितिले प्रतिवेदन तयार पारेको छ । सांसद बिना कुमारी श्रेष्ठको नेतृत्वमा गठित समितिले बुधबार प्रतिवेदनलाई पास गरेको हो ।

संसदको विकास तथा प्रविधि समितिले २०७५ साल चैत १८ गते गठित उप समितिले १६ औं बैठकबाट प्रतिवेदन तयार पारेको हो । उप समितिले पास गरेको प्रतिवेदन पूर्ण समितिमा पेश हुनेछ । प्रतिवेदनले सूचना प्रविधिको विकास र त्यसबाट आउन सक्ने जोखिम न्युनीकरणमा सचेत हुने व्यवस्था मिलाएको संयोजक श्रेष्ठले बताइन् । यद्यपी प्रतिवेदनमा काँग्रेस सांसद बहादुर सिंह लामाले भने असहमति दर्ज गरेका छन् ।

प्रतिवेदनमा उनले आफ्ना केहि असहमति रहेको र त्यसलाई दर्ज गर्ने बताए । यद्यपी उनले के के असहमति हो भन्नेबारे भने केहि पनि खुलाएनन् । विधेयकको ५५ वटा दफामा २७ जना सांसदले संसोधन प्रस्ताव हालेका थिए । उप समितिमा दुई पटक सञ्चार मन्त्री स्वयं सहभागी भएका थिए । उप समितिमा अनिल झा, इन्दु शर्मा, केदार सिग्देल, राजेन्द्र लिङदेन, गौरी शंकर चौधरी, मिनाक्षी झा र प्रभु शाह सदस्य थिए ।

सामाजिक सञ्जाल दर्ता, समाजिक सञ्जालमा जथाभावी लेख्नेलाई कारवाही लगायतका बिषय समेटिएको विधेयकको चर्काे विरोध भएको थियो । उप समितिले तयार पारेको प्रतिवेदनले सबैका माग सम्बोधन गरेको दावी पनि श्रेष्ठले गरिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement