अमेरिकामा हराएकी उपमेयर सम्पर्कमा, भनिन् : ‘म कतै लुकेको छैन, विरामी छु’

अमेरिकामा हराएकी उपमेयर सम्पर्कमा, भनिन् : ‘म कतै लुकेको छैन, विरामी छु’


काठमाडौं – अमेरिका पुगेर सम्पर्र्किवहीन भएकी कालीकोट तिलागुफा नगरपालिकाका उपमेयर दन्ता नेपाली (दर्शना) सम्पर्कमा आएकी छन् ।

कात्तिकमा गोष्ठीका लागि अमेरिका पुगेर सम्पर्र्किवहीन भएकी दर्शनाले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफू बिरामी भएर थला परेको प्रस्टीकरण दिएकी छन् ।

दर्शना गत कात्तिकमा इन्टरनेसनल सिटी मेनेजेर एसोसिएसन (आईसीएमए) ले आयोजना गरेको गोष्ठीमा भाग लिन अमेरिका पुगेकी थिइन् । उनले आफु अमेरिकामा लुकेको नभई गोष्ठी सकिएलगत्तै गम्भीर प्रकृतिको बिरामी परेको र उपचार गर्न समेत खर्च नभएको बताएकी छिन् ।

गत नोभेम्बरदेखि निष्क्रिय रहेको फेसबुक एकाउन्ट खोल्दै उनले लेखेकी छन्, “म हराएको पनि छैन । म कतै लुकेको पनि छैन । म मेयर रत्नबहादुर शाहीलाई जानकारी नदिएर पनि आएको होइन, उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो ।”

उनले ओह्रालो लागेको मृगलाई जसले पनि खेद्छ भन्ने लौकिक उक्तिको सहारा लिँदै बिरामी भएका बेला पनि नछाडिएको दुखेसो पोखेकी छन् । आफु सम्पर्कविहीन नभएको बताउँदै अमेरिकाबाट बार बार फोन गर्दा कार्यालय र मेयरको फोन नउठेको दर्शनाले गुनासो पोखेकी छन् ।दर्शनाले तिलागुफा नगरपालिकाका प्रशासकीय अधिकृत र वडाध्यक्षसँग पनि सम्पर्क भएको तर कुनै प्रतिक्रिया नआएको बताएकी छन् ।

नगरको खर्चमा अमेरिका नगएको र अहिले सरकारको खर्चमा उपचार गर्ने कुनै चाहना नभएको उनको प्रस्टीकरण छ । “मैले सोचें म बरु मर्छु तर सरकारी पैसामा उपचार गर्दिनँ । माग्दिनँ पनि । किनकि मलाई मेरो प्लेन टिकटको पैसा त दाजुहरू प्रभात, काशीप्रसाद पाण्डे, भाउजू सुनीता पाण्डेले हाल्नुभएको हो । त्यसैले मागिनँ,” उनले भनेकी छन् ।