भियना – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ भियनास्थित नेपाली राजदूतावासले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् । स्थानीय समय अनुसार मंगलबार राति आयोजित स्वागत समारोहमा उपस्थित भएर उपराष्ट्रपतिले अष्ट्रिया र नजिकका यूरोपियन मुलुकमा बसोबास गर्ने नेपाली समुदायसँग अन्तरक्रिया गरेका हुन् ।
उपराष्ट्रपति पुनले नेपाल स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको उल्लेख गर्दै नेपालको समृद्धिको यात्रामा विदेशमा बसोबास गर्ने नेपाली समुदायले योगदान दिनुपर्ने बताए । उनले विदेशमा बस्दा कमाएको पूँजी, सिकेको सिपलाई नेपालको विकास प्रक्रियामा प्रयोग गर्न आग्रह गरे ।
‘नेपाल समृद्धिको अभियानमा छ । यो अभियान सफल पार्न देश तथा विदेशमा बस्ने सबै नेपालीहरुको भूमिका हुनुपर्दछ’, उनले भने, ‘नेपालमा लगानीको प्रशस्त सम्भावना छ । तपाईंहरु ठूलो पूँजी हुनेले एकल लगानी गर्नुस्, साना पूँजी हुनेले सामुहिक लगानी गर्नुस् । यसबाट नेपालको समृद्धिको यात्रामा विदेशमा बस्ने नेपाली समुदायको योगदान हुनेछ ।’
उपराष्ट्रपतिले नेपालमा आएको राजनीतिक परिवर्तनप्रति गौरव गर्न विदेशमा रहेका नेपाली समुदायलाई आग्रह गरे । ‘नेपालको परिवर्तनप्रति कसैले चित्त दुखाउनु पर्दैन । प्राप्त परिवर्तनप्रति गौरव गर्नुपर्दछ’, उनले भने, ‘हाम्रो संविधान विश्वकै उत्कृष्ट छ । कसैलाई त्तित नबुझे संविधान भित्रै रहेर छलफल गरौँ ।’
उपराष्ट्रपतिले नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागेको बताउँदै त्यस बारे प्रचार प्रसार गर्न यहाँका नेपाली समुदायलाई समेत आग्रह गरे । ‘तपाईंहरुले विदेशी समुदायमा नेपालको बारेमा सकारात्मक सन्देश दिनुहोस् । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी भ्रमण वर्षको रुपमा मनाउन लागिएको छ । यसको प्रचार प्रसार गर्न सहयोग गर्नुहोस्’, उनले भने ।




प्रतिक्रिया