उपराष्ट्रपतिद्वारा पदभार ग्रहण


काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले उपराष्ट्रपति कार्यालय बहादुर भवन पुगेर आज पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहणपछि उनले पदभार ग्रहण गरेका हुन् । उपराष्ट्रपतिको कार्यालयमा उनलाई सचिव लालशंकर घिमिरेलेलगायतले स्वागत गरेका थिए ।

पदभार ग्रहणपछि उपराष्ट्रपति पुनले सात दशक लामो राजनीतिक संघर्षले निष्कर्ष हासिल गरेको उल्लेख गर्दै आगामी दशक आर्थिक समृद्धिको दशक हुने भएकाले यसका लागि सबैले हातेमालो गर्नुपर्ने बताए ।

“सात दशक लामो नेपाली जनताको राजनीतिक संघर्षले निष्कर्ष हासिल गरेको छ, राजनीतिक स्थायित्व शुरु भएको छ, अब समृद्धिको बाटो हो”–उनले भने, “देशको विकास र आर्थिक समृद्धिका लागि सबै राजनीतिक दल, संघ संस्था एकताबद्ध हुनुपर्छ, आर्थिक समृद्धिका लागि योगदान दिनु सबै नेपालीको जिम्मेवारी हो ।”

उपराष्ट्रपति पुनले आफू निर्विरोध निर्वाचित भएकोमा खुशी व्यक्त गर्दै राजनीतिक पार्टी र सबै तहका सांसदलाई धन्यवाद दिए ।

“विगत कार्यकालको मूल्याङ्कनसहित मलाई उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित गर्नुभएकोमा राजनीतिक पार्टी, सांसदलाई हृदयदेखि धन्यवाद दिन चाहान्छु”, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement