योग नै स्वस्थताको महत्वपूर्ण आयामः उपराष्ट्रपति पुन

योग नै स्वस्थताको महत्वपूर्ण आयामः उपराष्ट्रपति पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – उपराष्ट्रपति नन्दबहादुर पुनले स्वस्थ शरीर र मानसिक सुख वा आत्मिक शान्तिका लागि योग अचुक माध्यम बनिरहेको बताएका छन् ।

पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति चितवनद्वारा शुक्रबार आयोजीत योग शिविरको उद्घाटन गर्दै उनले योगले मानिसलाई रोग लाग्नबाट बचाएर स्वस्थ बनाइरहने भन्दैै योग नै स्वस्थताको महत्वपूर्ण आयाम भएको बताए ।

योगले आत्मिक शान्ति दिएर सुखी पनि बनाइरहेको भन्दै उनले आज विश्वभरका मानिसहरु कुनै न कुनै रोगसँग जुधिरहेका बताए । हरेक मानिस रोग लाग्नबाट कसरी बच्ने भनेर विभिन्न विकल्पको खोजीमा रहेको उनको भनाइ थियो । आजको विश्वमा मानिसले ठूला–ठूला भौतिक सुखसयल प्राप्त गरेका भए पनि ती मानिसहरु आत्मिक शान्ति, मानसिक सुखको खोजीमा रहेको उनले बताए ।

योग कहाँबाट उत्पत्ति भयो भन्ने र यसको परिभाषाबारे यससँग सम्बन्धित विज्ञहरुले भिन्नभिन्न कोणबाट तर्क गरेको भन्दै उनले भने, ‘विद्वानहरुले योगको शुरुआत शिव र पार्वतीको संवादबाट भएको र शिव पार्वतीको बास नेपालकै हिमालय क्षेत्रमा भएको तर्क गर्दै आएका छन् ।’

योगको परिभाषा जे भए पनि यो एउटा विज्ञानको रुपमा स्थापित भएको भन्दै उनले केही दिनअघिमात्रै एकविज्ञले आयुर्वेद, योगशास्त्रका पिता तथा संस्कृतिविद् पतञ्जलीको जन्म नेपालको अर्घाखाँची जिल्लामा भएको प्रमाणसहित दावी गरेको जानकारी दिए । उपराष्ट्रपति पुनले आज संसारका १७५ राष्ट्रले स्वीकार गरेको योग नेपालबाटै फैलिएको बताए ।