काठमाडौँ – सरकारले आज (आइतबार)देखि उपसचिव तहका कर्मचारी समायोजन गर्दैछ। सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन हुने दुई हजार उपसचिवलाई सरकारले आइतबारदेखि समायोजनपत्र दिने भएको हो।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीलका अनुसार कर्मचारीले आफूले रोजेको स्थानीय तह, प्रदेश या केन्द्रमा जान समायोजनपत्र बुझ्न थाल्नेछन्। फाराम भर्दा प्रयोग गरेको इमेल र राहदानीको आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले नै समायोजनको पत्र प्रिन्ट गर्न सक्ने उनले बताए।
‘कर्मचारी समायोजन अध्यादेश-२०७५’ अनुसार फाराम भर्दा प्रयोग गरेका इमेल र राहदानीका आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले नै समायोजनको पत्र प्रिन्ट गर्न सक्ने बताइएको छ। करीब दुई हजार उपसचिव तीनै तहमा समायोजन हुँदैछन्। यसअघि सरकारले पहिलो चरणमा सचिवलाई समायोजन गरिसकेको छ भने सहसचिवको समायोजनको लागि स्वीकृत गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पत्र पठाइएको छ।
सरकारले तीनै तहमा समायोजन गर्नका लागि गत पुस ११ गतेदेखि माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो। उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने अधिकारीले बताए। सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनको आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ। सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ।




प्रतिक्रिया