उपेन्द्र यादवको प्रस्टीकरण : जसपा कम्युनिष्ट पार्टी होइन


काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले जसपा कम्युनिस्ट पार्टी नभएको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमा लेखेर अध्यक्ष यादवले जसपा सैद्धान्तिक रूपले समाजवादी लोकतान्त्रिक पार्टी भएको जनाएका छन् । जसपा कम्युनिष्ट पार्टी नभएको र हुन पनि नसक्ने उनले बताए ।

सोमबार धनगढीमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा कम्युनिष्ट पार्टीहरू बीचको मोर्चा भएको बताएका थिए ।

वर्तमान अवस्थामा समाजवादी मोर्चा कम्युनिष्ट पार्टी अथवा साम्यवादी मोर्चामा रूपान्तरित हुन नसक्ने तथा समाजवादी पार्टी, लोकतान्त्रिक पार्टी र कम्युनिष्ट पार्टीहरूबीच सहकार्य र मोर्चा मात्र हुने उनले स्पष्ट पारे ।

उनले लेखेका छन्, ‘जनता समाजवादी पार्टी, नेपाल सैद्धान्तिक रूपले समाजवादी लोकतान्त्रिक पार्टी हो । कम्युनिष्ट पार्टी होइन र हुन पनि सक्दैन । यसमा कसैलाई भ्रम नरहोस् । समाजवादी पार्टी र कम्युनिष्ट पार्टीहरूबीचको मोर्चा समाजवादी मोर्चा हो । वर्तमान अवस्थामा समाजवादी मोर्चा कम्युनिष्ट पार्टी अथवा साम्यवादी मोर्चामा रूपान्तरित हुन पनि सक्दैन । समाजवादी पार्टी, लोकतान्त्रिक पार्टी र कम्युनिष्ट पार्टीहरूबीच सहकार्य र मोर्चा मात्र हुनेछ । हाम्रो समाजमा रहेको गरीबी, अशिक्षा, बेरोजगारी, सामाजिक–आर्थिक शोषण–उत्पीडनका साथै वर्गीय, जातीय र लिङ्गका आधारमा कायम रहेका असमानता र विभेदलाई उन्मूलन गर्दै आफू पहिचान सहितको संघीयता, सुशासन, समानता, स्वतन्त्रता, सामाजिक–आर्थिक न्याय र समाजवादप्रति आस्था राख्ने भएको हुँदा कम्युनिष्ट वा साम्यवादी हुन सकिन्न । यस सम्बन्धमा कसैलाई कुनै भ्रम अथवा द्विविधा नहोस् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement