जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाएर अन्तर्राष्ट्रियस्तरमा देशको छवि बिगारेको बताएका छन् ।
जनकपुरधाममा प्रेस मञ्च नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय आपत्तिजनक रहेको बताए ।
उनले भने, ‘कतिपय मुलुकमा हाम्रो देशको लागि लाजमर्दो अवस्था छ । भोलि भारतको प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा निम्तो पाएर प्रधानमन्त्री जाने र राजदूतलाई एक दिन अगाडि फिर्ता बोलाउने ! यो भनेको अत्यन्तै गलत हर्कत हो । देशलाई नै बेइज्जत गराउने काम सरकारले गरेको छ । राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कूटनीतिक मर्यादाविपरीत छ । देशको अन्तर्राष्ट्रिय छवि बिगार्ने काम भएको छ । यो गलत हो । हाम्रो पार्टी यसको विरोध गर्छ ।’
पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले सरकारले ल्याएको बजेट आग्रह–पूर्वाग्रहबाट प्रेरित रहेको आरोप लगाएका छन् ।




प्रतिक्रिया