जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक समुदायलाई शिक्षित र संगठित हुन आग्रह गरेका छन् ।
शनिबार जनकपुरधाममा आयोजित दलित, पिछडावर्ग, थारु आदिवासी र अल्पसंख्यक (डोओटीआईएम) परिसंघको धनुषा जिल्ला स्तरीय बृहत् अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले सम्पूर्ण पिछडिएका वर्गहरूलाई शिक्षित र संगठित हुन आग्रह गरेका छन् ।
अध्यक्ष यादवले सम्पूर्ण जातजाती भाषाभाषी, धनी, गरीबले समान अधिकार पाउनुपर्ने बताए । सरकारले कर लिने बेला भेदभाव नगर्ने तर सुविधा दिने बेला भेदभाव गर्ने गरेको अध्यक्ष यादवले बताए । उनले हरेक जात हरेक धर्म रहेक समुदायले समान हक र समान सुविधा पाउनुपर्ने उल्लेख गरे ।
अध्यक्ष यादवले देशमा विद्यमान गुलामी प्रथा र भेदभाव अन्त्य गर्न सबैलाई एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिए । उनले पहिला पिछडिएका वर्गहरूका बच्चालाई शिक्षित बनाउन आवश्यक रहेको बताए । उनले शिक्षित र संगठित हुनको विकल्प नरहेको बताए ।
समान अधिकारका लागि अहिले अझै संघर्ष गर्न बाँकी रहेकोले डीओटीआईएममा आवद्ध भएर एकअर्कालाई कुनै समस्या परेमा चुप लागेर बस्नुको साटो अगाडि आएर आवाज उठाउन सबैलाई सुझाव दिए । अध्यक्ष यादवले कुनै एक समुदायलाई समस्या भएको खण्डमा अर्को समुदायले चुप लागेर बस्नु नहुने बताए । परिवर्तन चाहने सबैले सबैको समस्यालाई आफ्नो समस्या बुझेर एकअर्काको मद्दत गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर एक दर्जन बढी नेता कार्यकर्ता तथा युवाहरू जसपा नेपालमा प्रवेश गरेका थिए । अध्यक्ष यादवले टीका लगाएर उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।




प्रतिक्रिया