जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको नयाँ इतिहास लेख्न युवाहरूलाई आह्वान गरेका छन् ।
समाजवादी युवा संघ नेपालद्वारा आईतबार जनकपुरधाममा आयोजित युवा नेतृत्व र सशक्तीकरण सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष यादवले नेपालको नयाँ इतिहास लेख्न युवाहरू उठ्नुपर्नेमा जोड दिए ।
उनले विभिन्न देशहरूको उदाहरण दिँदै युवाहरूकै कारणले परिवर्तन आउने गरेको इतिहासबारे चर्चा गरेका छन् ।
अध्यक्ष यादवले अब मधेशका युवाहरूलाई पनि उठेर नयाँ इतिहास रच्न आह्वान गरे । उनले शिक्षा र रोजगार हाम्रो अधिकार भन्ने नारालाई अवलम्बन गर्दै युवाहरूलाई संगठित हुन आग्रह गरे ।
अध्यक्ष यादवले युवाहरूलाई अब हुने चुनावमा सहभागी हुन आग्रह गरे । उनले चुनावमा सहभागी भएर आफ्नो मतको प्रयोग गरी भ्रष्टाचार र भ्रष्टाचारीलाई जडैदेखि उखालेर फ्यालेर देखाउन आग्रह गरे ।
अध्यक्ष यादवले कम्युनिष्ट र कांग्रेसले ३५ वर्षदेखि देशमा कुनै विकास नगरेको आरोप समेत लगाए । उनले कंग्रेस र कम्युनिष्टकै रवैयासँग आजित भएर नेपालमा जेनजी आन्दोलन निम्त्याएको धारणा राखे ।
उनले भ्रष्टाचार रोक्न निर्वाचन प्रणालीलाई व्यवस्थित गर्न आवश्यक रहेको सुझाव दिए । उनले चुनावमा जति खर्च कम हुन्छ, त्यति नै भ्रष्टाचार कम हुने धारणा राखे । उनले कर्मचारीहरूको तलब पनि न्यून रहेकाले त्यसमा राज्यले विचार गर्नुपर्ने बताए ।




प्रतिक्रिया