उपेन्द्रले मागे मधेसमा मुख्यमन्त्री, केन्द्रमा गृह वा स्वास्थसहित उपप्रधानमन्त्री

उपेन्द्रले मागे मधेसमा मुख्यमन्त्री, केन्द्रमा गृह वा स्वास्थसहित उपप्रधानमन्त्री

माग सम्बोधन गर्न कांग्रेस एमाले सहमत नभएपछि निर्णयार्थ पेस भएनन् अध्यादेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभामा सरकारले प्रस्तुत गरेका अध्यादेश स्वीकृत गर्न सघाउन मधेस प्रदेशको मुख्यमन्त्री र केन्द्रमा गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयसहित उपप्रधानमन्त्री मागेको छ ।

अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्षसँग भएका छुट्टाछुट्टै भेटमा ती सर्त तेर्स्याएका हुन् ।

राष्ट्रियसभामा अध्यादेश पारित गर्न जसपा नेपालबिना सत्ता पक्षलाई गाह्रो भएपछि सहयोगका लागि यादवले ठूलै माग प्रस्तुत गरेका हुन् ।

बुधबार साँझ देउवासँग र बिहीबार बिहान प्रधानमन्त्री ओलीसँग भएका भेटमा यादवले संघमा गृह र स्वास्थ्य मन्त्रालयमध्ये एक मन्त्रालय उपप्रधानमन्त्रीसहित मागेको कांग्रेसका एक नेताले जानकारी दिए ।

ती नेताले भने, ‘उहाँले अध्यादेश पास गर्ने तर आफूलाई उपप्रधानमन्त्रीसहित गृह अथवा स्वास्थ्य मन्त्रालय दिनुपर्ने माग राख्नुभएको छ । त्यसमा सहमति जुटेको छैन ।’

त्यतिमात्र होइन यादवले देउवा र ओलीसँग मधेस प्रदेशको मुख्यमन्त्री पनि जसपा नेपालले पाउनु पर्ने माग राखेका छन् ।

यादवका यी माग सम्बोधन गर्न कांग्रेस एमाले तयार भइसकेका छैनन् । यादवसँग सहमति नभएकाले आज प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेस गर्ने भनिएका अध्यादेश पेस भएनन् ।

जसपा नेपाल सरकारलाई आफू बिना गाह्रो हुने देखेर अध्यादेशबारे अध्ययन गर्न कार्यदल बनाएको थियो । उपाध्यक्ष राजकिशोर यादव नेतृत्वको कार्यदलले प्रतिवेदन तयार गरी पार्टी अध्यक्ष यादवलाई बुझाइसकेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा गत १४ पुसमा राष्ट्रपति रामचन्द्र पौडेले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए । २९ पुसमा थप चारवटा र २ माघमा अर्को एउटा अध्यादेश जारी भएका थिए । सबै अध्यादेश संसदमा पेस भइसके पनि राष्ट्रियसभामा सत्तापक्षको जसपा नेपालबिन बहुमत नपुग्ने भएकाले सरकारले निर्णयार्थ पेस गरेको छैन ।

जसपा नेपालले संघ र प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन गरेको छ तर, सरकारमा सहभागी भएको छैन ।

जसपा नेपाललाई फकाउन सत्ता र प्रतिपक्ष दुवैतर्फका नेताहरू लागिपरेका छन् ।