अध्यादेश कार्यसूचीमा चढेपछि मात्रै जसपा नेपालले निर्णय लिने

अध्यादेश कार्यसूचीमा चढेपछि मात्रै जसपा नेपालले निर्णय लिने


काठमाण्डु – केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेश संघीय संसद्को कार्यसूचीमा चढेपछि मात्रै जनता समाजवादी पार्टी (जसपा) नेपालले के गर्ने भन्ने निर्णय लिने भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको कार्यसूचीमा राखेपछिमात्र निर्णय लिने बताएका हुन् ।

सरकारले ल्याएका अध्यादेशबारे निर्णय लिन आइतबार बिहान जसपा नेपालको संसदीय दलको बसेको बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त कुरा गर्दै पार्टी अध्यक्ष यादवले ‘संसदको कार्यसूचीमा चढेपछि मात्रै अध्यादेशबारे निर्णय लिइने’ बताए ।

‘जुन बेला निर्णय काम लाग्ने हो, त्यतिबेला त हुने हो,’ अध्यक्ष यादवले भने ।

अध्यादेशबारे जसपा नेपाल अनिर्णित हुँदा यसअघि यही २४ माघमा अध्यादेश स्वीकृत गर्ने कार्यक्रम दैनिक कार्यसूचीमा चढाएर हटाइएको थियो । अधिवेशन सुरु भएको पहिलो दिन पेस गर्नुपर्ने र दुवै सदनबाट अध्यादेश स्वीकृत गराएर ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर ऐनमा रुपान्तरण गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ ।

सरकारलाई राष्ट्रियसभामा बहुमतको समस्या परेपछि ‘आफ्नो हात माथि रहेको’ भन्दै जसपा नेपालले बार्गेनिङ पावर थप बढाए पनि पदको बार्गेनिङ गरेको आरोप भने अस्वीकार गरे ।

उनले आफूहरू अहिले सरकारमा जाने अवस्थामा नरहेको बताए ।