अब कम्युनिस्ट सरकारको दुईतिहाइको दम्भ समाप्त भयोः उपेन्द्र यादव

अब कम्युनिस्ट सरकारको दुईतिहाइको दम्भ समाप्त भयोः उपेन्द्र यादव


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट राजीनामा दिएका पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले अब कम्युनिस्ट सरकारको दुईतिहाइको दम्भ समाप्त भएको बताएका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै पूर्व मन्त्री यादवले हिजो सरकारमा दुईतिहाइको दम्भ भएपनि अब समाप्त भएको बताए ।

प्रधानमन्त्री ओलीसँग स्पष्ट बहुमत हुँदाहुँदै समाजवादी पार्टीले समर्थन फिर्ता लिनुको के अर्थ हुन्छ भनेर सोधिएको प्रश्नमा यादवले सरकारको दुईतिहाइको दम्भ समाप्त भएको बताए ।

‘सरकारको दुईतिहाईको दम्भ आजबाट अन्त्य भयो । कम्युनिष्टबाहेक अरू पनि छन् भन्ने पनि अन्त्य भयो,’ उनले भने ।

यादवले ओली सरकारले जनताको माग अनुसार संविधान संशोधन गर्ने अवस्था नदेखिएको बताए । उनले समाजवादी पार्टीले प्रतिपक्षमा रहेर पनि संविधान संशोधनका लागि पहल गर्ने बताएका छन् ।

यादवले राजपा सरकारमा गएर आत्महत्या नगर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । अध्यक्ष यादवले प्रश्न गरे, ‘राजपा सरकारमा गएर आत्महत्या गर्ला र ?’

राजपासँग पार्टी एकीकरणका क्रममा समाजवादीले सरकार छाड्नुपर्ने शर्त राखिँदै आएकाले राजपा सरकारमा जाने सम्भावना नरहेको समेत यादवले बताए ।

‘सरकारमा जानेरनजाने उहाँहरूको स्वतन्त्रताको विषय पनि हो,’ उनले भने, ‘तर जानीजानी आत्मघाती कदम उठाएर जानीजानी आत्महत्या त गर्दैनन् होला नि !’

राजपाले नै सरकार छाडौं भनेअनुसार आफूले सरकारबाट बाहिरिएर माग पूरा गरिदिएकाले अब राजपासँग पार्टी एकीकरणका लागि कुराकानी अगाडि बढ्ने उनले बताए ।

‘सरकार छाड््नुपर्छ भन्ने राजपाको माग थियो, यो माग पनि पूरा भएको छ । अब पार्टी एकीकरण गर्न सजिलो हुन्छ,’ अध्यक्ष यादवले भने ।