काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले कार्यकारिणी सदस्यहरुलाई सोमबार निर्वाचन आयोगमा उपस्थित हुन निर्देशन दिएको छ ।
शनिबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी बैठकले आफूसँग बहुमत सदस्य रहेको भन्दै सोमबार सबै सदस्यहरुलाई परिचय खुल्ने सक्कल कागजातसहित आयोगमा पुग्न निर्देशन दिएको हो ।
राष्ट्रिय जनाता पार्टी नेपाल र समाजवादी पार्टी नेपाल एकिकरणपछि बनेको जसपामा ५१ जना कार्यकारिणी सदस्य रहेका छन् ।शनिबारको बैठकमा ५१ मध्ये ३३ जना सदस्य सहभागी भएको बैठकपछि नेता महेन्द्र राय यादवले जानकारी दिए ।
यसअघि निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई सक्कल कागजातसहित साउन ११ गते आयोगमा उपस्थित हुन निर्देशन दिएको थियो । तर आयोगको प्रक्रिया रोक्न जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले सर्वोच्चमा रिट दायर गरेको छ ।
बैठकमा ठाकुर पक्षले सर्वोच्चमा दिएको रिट निवेदनका विषयमा पनि बैठकमा छलफल भएको थियो । त्यस्तै बैठकमा संसदीय दलबाट पाारित संसदीय दलको विधान प्रस्तुत भएको उनले जानकारी दिए । विधान अध्ययनका लागि कार्यकारिणी सदस्यहरुलाई उपलव्ध गराइएको यादवले जानकारी दिए । कार्यकारिणी बैठकबाट विधान पारित भएपछि संसदीय दलको नेता चयनको प्रक्रिया सुरु हुने यादवले बताए ।




प्रतिक्रिया