सरकारमा सहभागी हुन उपेन्द्र यादव पक्षले राख्यो यस्ता सर्त

सरकारमा सहभागी हुन उपेन्द्र यादव पक्षले राख्यो यस्ता सर्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) काे उपेन्द्र यादव पक्ष तत्काल सरकारमा सहभागी नहुने भएको छ ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परामादेश जारी गरेपछि आफ्नै समर्थनमा बनेको सरकारमा जसपा सहभागी हुने आँकलन गरिएको थियो । तर, मंगलबार बसेको जसपाको कार्यकारिणी परिषदकाे बैठकले तत्काल देउवा नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

‘जसपा काँग्रेस नेतृत्वको सरकारमा जान्छ तर, तत्कालै जाँदैन । त्यसका लागि प्रधानमन्त्रीले मधेशको मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु पर्छ,’ नेता रामसहाय यादवले काठमाण्डुपाटीसँग भने, ‘संविधान संशोधन, झुठा मुद्दा फिर्ता, रेशम चौधरीको रिहाई लगायत मधेशका मुद्धा फिर्ता गर्ने प्रतिवद्धता जनाएपछि मात्रै पार्टी सरकारमा जान्छ ।’

उनले देउवा नेतृत्वको सरकारले ल्याउने कार्यक्रमहरु पनि हेर्ने बताउँदै आफ्ना मुद्दालाई सरकारले कसरी सम्बोधन गर्छ त्यसपछि पार्टीमा छलफल गरेर मात्र सरकारमा जाने निर्णय गर्ने बताए ।

‘शेरबहादुर देउवा सरकारले कस्तो कार्यक्रमहरू तय गर्छ, त्यसलाई पनि जसपाले हेर्छ । हाम्रो मुद्दालाई सरकारले कसरी सम्बोधन गर्ने लगायतका विषयमा पार्टीमा छलफल गरेर मात्र सरकारमा जाने निर्णय गर्छौं,’ नेता यादवले भने ।

दलको आधिकारिकता सम्बन्धी मुद्दा निर्वाचन आयोगमा विचाराधिन रहेको छ । दुवै समूह विभाजनको प्रक्रियामा छन् । उनले पार्टीको मुद्दा निर्वाचन आयोगमा विचाराधीन रहेको अवस्थामा सरकारमा जान हतार नभएको बताए ।

‘केहि प्राविधिक समस्याहरु पनि छन्, त्यसैले तत्कालै सरकारमा गइहाल्ने अवस्था छैन्, त्यसैले हाल कतिवटा मन्त्रालय लिने र कुन–कुन लिने भन्ने विषयमा छलफल भएको छैन,’ उनले भने ।

आफ्नो पक्षले आधिकारिकता पाउनु पर्ने दाबी गर्दै महन्थ ठाकुर र उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएका छन् । यसको छिनोफानो लगाउन आयोगले इजलास समेत गठन गरेको छ ।

साउन ३ गतेदेखि इजलासमा वहस हुने निर्णय भइसकेको अवस्थामा सरकारमा जाँदा अप्ठ्यारो हुन सक्ने यादव पक्षको विश्लेषण छ । पार्टीको मुद्धा निर्वाचन आयोगमा विचाराधिन रहेको अवस्थामा पनि सरकारमा जाँदा अफ्ठ्यारो नपर्ने कानूनी जानकारहरू बताउँछन् ।

बहुमतका आधारमा पार्टीले निर्णय गरेर सरकारमा जान सक्ने भन्दै उपेन्द्र यादव पक्षका अधिवक्ता वीरेन्द्र ठाकुरले निर्वाचन आयोगमा मुद्दा विचाराधीन रहेकै कारण सरकारमा जान कुनै रोकावट नहुने बताए ।

महन्थ ठाकुर पक्ष प्रतिपक्ष

जसपाको महन्थ ठाकुर पक्ष प्रतिपक्षमा बस्ने भएकाे छ । ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले आफूहरु सरकारमा सहभागी नहुने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहसँगको गठबन्धनलाई निरन्तरता दिने बताए । ठाकुर समूह सरकारमा नगई विपक्षमा बस्ने र अहिलेलाई ओली समूहसँग मिलेर जाने टुंगोमा पुगेको हो ।

उनले भने, ‘हामी र देउवा नेतृत्वको सरकारमा जाँदैनौं, विपक्षमै बस्छौं र ओलीजीहरुसँगको गठबन्धन कायमै छ ।’