ओलीले धोका दिएपछि सरकारमा बस्न नैतिकताले दिएन : उपेन्द्र यादव

ओलीले धोका दिएपछि सरकारमा बस्न नैतिकताले दिएन : उपेन्द्र यादव


काठमाडौं – समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई धोका दिएको आरोप लगाएका छन् ।

मंगलबार सरकारबाट राजीनामा दिँदै उनले सरकार दुई बुँदे सहमतिबाट पछि हटेको आरोप लगाउँदै नैतिकताको आधारमा मन्त्री पदमा बसिरहन औचित्य नभएको ठहरसहित पदबाट राजीनामा दिएको बताएका छन् ।

‘सोमबारको मन्त्रिपरिषद् बैठकमा मैले संविधान संशोधनका लागि प्रस्ताव गरेको थिएँ’, तर दुई बुँदे सहमतिबाट सरकार पछि हटेर त्यसलाई तोडेकाले नैतिकताको आधारमा मन्त्री पदमा बसिरहन औचित्य नभएको ठहरसहित पदबाट राजीनामा दिएको छु ।’

समाजवादी पार्टीको तर्फबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान तथा कानुन मन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले मंगलबार पदबाट राजीनामा घोषणा गरेका हुन् । संविधान संशोधनको अपेक्षासहित सरकारमा गएका यादव र प्रम ओलीबीच पछिल्लो समय लामो समयदेखि बोलचाल नै बन्द थियो ।

सोमबार यादवले संविधान संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा दर्ता गराउन खोजिएपछि प्रम ओली रिसाएका थिए । यादवले अचानक प्रस्ताव गरेपछि रिसाएका ओलीले ‘स्टप’ भन्दै बेला न कुबेला संविधान संशोधनको कुरा गरेको भन्दै यादवलाई गालीसमेत गरेका थिए ।