काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आफूहरुलाई अलग गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
मंगलबार आयोग पुगेर अध्यक्ष ठाकुर र यादवले आफूहरु एकैठाउँ बस्न नसक्ने भन्दै अलग गरिदिन आग्रह गरेका हुन् ।
ठाकुर पक्षका नेता अनिल झाले पार्टीलाई अलग गरिदिन माइन्युट गरिएको जानकारी दिए । अध्यक्षद्वय ठाकुर र यादवले कानून बमोजिम आफूहरुलाई अलग गरिदिन आग्रह गरेको नेता झाले जानकारी दिए ।
‘हामी मिलेर जान सकेनौं । हामीलाई अलग गरिदिनूस् भन्यौं । उपेन्द्रजीबाट एकसाथ जान नसकिने भन्ने कुरा आयो’, उनले भने ।
आयोगले जसपाको विवाद समाधानका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । तर, दुवै पक्षबाट सहमतिमा छुट्टिने प्रस्ताव गरेर बाहिरिएका छन् । जसपाको दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएका थिए ।
ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी र यादव पक्षले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा लागेपछि फुटको संघारमा रहेको जसपाका दुवै पक्ष आधिकारिक दाबी गर्दै आयोग पुगेका थिए ।
उपेन्द्र पक्षको दाबी पछि महन्थ पक्षले २० जना कार्यकारिणी थप गरेको पत्रसहित आफू आधिकारिक भएको भन्दै आयोगमा जवाफ पठाएको थियो ।
राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच २०७७ वैशाख १२ गते एकता भएर जनता समाजवादी पार्टी बनेको थियो । एकता भएको एक वर्षपछि नै जसपा विभाजित हुने भएको छ ।




प्रतिक्रिया