काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।
बैठक सुरु हुँदासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठेर विरोध जनाएपछि बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको हो ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि सहजीकरण गर्न प्रतिपक्ष दलहरुलाई आग्रह गरे पनि उनको आग्रह कांग्रेस सांसदहरूले सुनेनन् ।
‘संसदमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल नै हुन पाएको छैन । जनताले चाहेको र खोजेको विषयमा हामीले काम नै गर्न पाएका छैनौं । बजेट प्रस्तुत हुने दिन आइसक्यो । संसदको गतिरोध अन्त्य गर्ने विषयमा राष्ट्रियसभा अझ बढी जिम्मेवार बन्नुपर्ने र सोच्नुपर्ने बेला आएको छ,’ अध्यक्ष दाहालले भने ।
त्यसपछि पनि प्रतिपक्षको विरोध कायमै रहेपछि आजको बैठक स्थगित भएको उनले घोषणा गरे । सभाको अर्को बैठक यही जेठ १३ गते आइतबार बिहान ११ः३० बजे बस्नेगरी अध्यक्ष दाहालले बोलाएका छन् ।




प्रतिक्रिया