काठमाण्डु – राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजदेखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन सुरु हुन लागेको हो ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताए । आयोजनाले गोगरदेखि खिम्तीसम्मको कूल ४७ दशमलव २ किलोमिटर लामो दुई सय २० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ ।
आयोजनाले अस्ति शनिवार ढल्केबरदेखि न्यू खिम्ती सब–स्टेशनबीचको लाइन चार्ज गरेको थियो । यस्तै जीआइएस समेत चार्ज भएको छ । सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ । आयोजनामा जडान गरिएका उपकरण आजदेखि लोडमा चलाइनेछ । आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । ढल्केबर सब–स्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ ।




प्रतिक्रिया