माथिल्लो तामाकोशीको एक अर्ब ५८ करोडको आइपिओ आउँदै


काठमाडौँ – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण शेयर(आइपिओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ ।

आयोजनाले सोमबार एक सूचनामार्फत एक अर्ब ५८ करोड बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्न लागेको जनाएको हो । आयोजनाले यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई साधारण शेयर बिक्री गरिसकेको छ ।

यस्तै गत साउन १६ गतेदेखि गत भदौ २१ गतेसम्म आयोजना प्रभावित दोलखावासीलाई समेत साधारण शेयर बिक्री गरिसकेको छ । आयोजनाले दोलखावासीलाई एक अर्ब पाँच करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । तेस्रो चरणमा आम सर्वसाधारणलाई शेयर बिक्री गर्न  लागेको आयोजनाले जनाएको छ ।

दोलखाको लामाबगरमा निर्माणाधिन माथिल्लो तामाकोशी ४५६ मेगावाट क्षमताको आयोजना हो । स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजना आगामी पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि निर्माण व्यवसायीले तोकिएअनुसार काम नगर्दा केही समय पर धकेलिने अवस्था सिर्जना भएको हो ।

आयोजनाले आम सर्वसाधारणका लागि न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । धितोपत्र निष्कासन छिटोमा कात्तिक १९ गतेसम्म बन्द हुनेछ भने बढीमा मङ्सिर १४ गतेसम्म हुनेछ ।

आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ । शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड छन् । निर्माण सामग्रीको ढुवानीमा देखिएको समस्याका कारण आयोजनाको निर्माण प्रक्रियामा केही शिथिलता आएपनि दशैँलगत्तै निर्माण कार्यले तीव्रता पाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement