उर्जामन्त्रीको निर्देशनमा महसुल उठाउँदै प्राधिकरण

उर्जामन्त्रीको निर्देशनमा महसुल उठाउँदै प्राधिकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले स्थानीय सरकारसँग समन्वय गरेर बाँकी बक्यौता महसुल उठाउन शुरु गरेको छ । विद्युतको उपभोग गर्ने तथा महसुल तिर्न आनाकानी गर्दै आएका ग्राहकलाई महसुल बुझाउन र थप विद्युतीकरणका लागि समेत मार्गप्रशस्त गर्ने लक्ष्यका साथ प्राधिकरणले स्थानीय सरकारसँग मिलेर महसुल उठाउन शुरु गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणलाई स्थानीय निकायसँग मिलेर महसुल उठाउन प्राधिकरणलाई दिएको निर्देशनको कार्यान्वयन काभ्रेपलाञ्चोक जिल्लाको भूम्लु गाउँपालिकाले थालेको छ । सो गाउँपालिकासँग मिलेर प्राधिकरणले महसुल उठाउने भएको हो । भूम्लु गाउँपालिका–६ का वडाध्यक्ष भरबहादुर शिवभक्तिका अनुसार केही उपभोक्ताले महसुल नबुझाएका कारण थप विद्युतीकरणमा समस्या पैदा भएकाले महसुल भुक्तानीका लागि सम्बन्धित उपभोक्तालाई आग्रह गरिएको हो । वडा नं ६ का कूल नौ ग्राहकले ठूलो मात्रामा महसुल नतिरेको पाइएको छ ।

यस्तै पाँचखाल नगरपालिका–११ चैनपुर क्षेत्रमा समेत प्राधिकरणले विद्युत् चोरी गर्ने २० जनाको लाइन काटेको थियो । प्राधिकरणको पाँचखाल वितरण केन्द्रका अनुसार लाइन काटिएकामध्ये नौ जनाले तत्कालै रु एक लाख १६ हजार ४०८ महसुल तिरेपछि लाइन जोडिएको छ ।

स्थानीयरूपमा विद्युत् लाइन विस्तारका लागि प्राधिकरणका सम्बन्धित वितरण केन्द्रदेखि मन्त्रालयसम्म माग आउने गरेको छ । सोही मागलाई व्यवस्थापन गर्न पनि स्थानीय सरकारसँग मिलेर महसुल उठाउने तथा विद्युत् लाइन विस्तार गर्ने योजना प्राधिकरणले बनाएको छ । प्राधिकरणले चालू आर्थिक वर्षको अन्त्यसम्म ४० जिल्लालाई पूर्णरूपमा विद्युतीकरण गर्ने भएको छ । यस्तै आगामी तीन वर्ष्भित्र सबै नेपालीलाई विद्युत् सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

सो लक्ष्य पूरा गर्न पनि स्थानीय सरकारको सहयोग अत्यावश्यक रहेको छ । यस्तै विद्युतीकरणका लागि स्थानीय सरकारको बजेटसमेत खर्च गर्ने लक्ष्य राखिएको छ । स्थानीय सरकारले विद्युतीकरण पनि अगाडि बढाउने र महसुल उठाउनसमेत प्राधिकरणलाई थप सहजीकरण गर्ने बताउँदै आएका छन् ।