काठमाण्डु – युक्रेनमा लामो समयदेखि जारी पृथकतावादी संघर्षमा रुस प्रवेश गरेपछि विश्वभर हलचल मच्चिएको छ । पृथकतावादी संघर्ष भइरहेका पूर्वी युक्रेनका २ क्षेत्र दोनेत्स्क र लुगान्स्कलाई रुसले छुट्टै स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेपछि संघर्ष गहिरिएको हो ।
युक्रेनको आन्तरिक मामिलामा रुस प्रवेश गरेको भन्दै अमेरिकाले आपत्ति जनाएको छ । पटक–पटक सचेत गराउँदा पनि रुसले रवैया नरोकेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिबन्ध घोषणा गरेका छन् । मंगलबार राष्ट्रलाई सम्बोधन गर्दै बाइडेनले भनेका छन्, ‘हाम्रो तर्फबाट रक्षात्मक कदम उठाइँदैछन् ।’
रुसका २ वटा वित्तीय संस्थानमा प्रतिबन्धको घोषणा गर्दै बाइडेनले भनेका छन्, ‘अब रुसले पश्चिमी देशसँग व्यापार गर्न पाउने छैन, हामीले अझै कैयौ कदम उठाउनुपर्नेछ ।’ पश्चिमी देशबाट रुसलाई दिने आर्थिक सहायतामा पनि रोक लगाउने बाइडेनले बताए । ‘रुसको तर्फबाट अन्तर्राष्ट्रिय कानूनको लगातार उल्लंघन गरिँदैछ, युक्रेनको सीमामा रुसी सेना तैनाथ छन्,’ उनले भने ।
राष्ट्रपति बाइडेनले २ दिनयता रुस र युक्रेनसँग कैयौ बैठक गरिएका समेत बताए । उनले भने, ‘रुससँग युद्ध गर्नु हाम्रो उद्देश्य होइन, रुसले युक्रेनलाई चारैतिरबाट घेरेर राखेको छ । हाम्रो नजर रुसको आगामी कदममा छ ।’ रुसका राष्ट्रपति भ्यादिमिर पुटिनले स्वतन्त्र राष्ट्रको मान्यता दिएका युक्रेनका २ प्रदेशमा शान्ति सेना पठाउने तयारी गरेको चर्चा छ । युक्रेनका राष्ट्रपतिसँग कुराकानी जारी रहेको बताउँदै राष्ट्रपति बाइडेनले रुस र युक्रेनबीचको विवाद समाधान गर्ने कोसिस भइरहेको जनाएका छन् ।
‘हामी युद्ध टार्ने प्रयास गरिरहेका छौं,’ उनले भने । अमेरिकाले युक्रेनमा हातहतियारको आपूर्ति जारी राख्ने समेत जनाएको छ । अमेरिकाले नेटो गठबन्धनमा रहेका देशको रक्षा गर्नु आफ्नो कर्तव्य रहेको बताएको छ । युक्रेनी सीमामा तनाव, रुसी सैनिक तैनाथ युक्रेनको सीमा क्षेत्रमा रुसी सैनिक तैनाथ भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार रुसकी सेनाका ट्रकहरू हातहतियारसहित युक्रेनी सीमा क्षेत्रतिर गइरहेका छन् । अर्काेतिर, रुसका राष्ट्रपति पुटिनले भने युक्रेनमा सेना पठाउने आफ्नो कुनै निर्णय नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘युक्रेनमा सेना पठाउनेबारे हालसम्म कुनै आदेश भएको छैन । अवस्था हेरेर सैनिक तैनाथ गर्ने विषयमा निर्णय गरिनेछ ।’ युक्रेन नेटो गठबन्धनमा सहभागी नभए समस्याको समाधान गर्न सकिने राष्ट्रपति पुटिनले बताए । नेटो अमेरिका नेतृत्वको गठबन्धन हो । तर अमेरिका भने युक्रेनलाई नेटो गठबन्धनमा सहभागी गराउन र उसको पक्ष लिन जोडबल गरिरहेको छ ।




प्रतिक्रिया