काठमाण्डु – अमेरिकी सेनाको जहाज शुक्रबार काठमाण्डु आएको छ । अमेरिकी सेनाको युएस एयर फोर्स एकाबिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि सामाजिक सञ्जालमा त्यसको फोटो र भिडिओको चर्चा सुरु भएको छ ।
एकाबिहानै अमेरिकी सेनाको जहाज विमानस्थलमा अवतरण भएपछि पूर्व बाल सैनिक लेनिन बिष्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘युस एयर फोर्स किन आएछ त एका बिहानै नेपाल ?’ ।
यो समाचार तयार पार्दासम्म उनको फेसबुक प्रोफाइलमा भएको उक्त फोटोमा एक सय बढीले कमेन्ट र २ सय ७ जनाले सेयर गरिसकेका छन् । केही समयअघि नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेशनको विरोध भएको थियो ।
संसद्बाट एमसीसी पास नभएसम्म अमेरिकी सैनिक आउने भनेर विरोध भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शुक्रबार बिहान अवतरण गरेको युएस फोर्सको जहाज पार्किङ गरिएको थियो । तर अहिले भने जहाज फर्किइसकेको छ ।
एकाबिहानै यूएस फोर्सको जहाज विमानस्थलमा अवतरण गरेपछि विभिन्न अड्कलबाजी भइरहेका छन् । यस्तोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयले अमेरिकी सेनाको जहाज अमेरिकी कूटनीतिज्ञलाई लिएर काठमाण्डु आएको बताएको छ ।
‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना)को जहाज काठमाण्डु आएको हो,’ विमानस्थलस्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले भने ।
संसदबाट एमसीसी १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएपछि अमेरिकालाई लिएर नेपालमा संशय व्यक्त हुँदै आएको छ । यही बेला कूटनीतिज्ञसहित अमेरिकी सेनाको जहाज नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।




प्रतिक्रिया