अमेरिकी उपसहायक विदेश मन्त्रीको भनाई सार्वजनिक भएलगत्तै अमेरिकी सेना प्रमुख नेपालमा


काठमाडौं– संयुक्त राज्य अमेरिकाका अमेरिकी सेना प्यासिफिकका कमाण्डिङ जनरल रोबर्ट बी.ब्रोन नेपाल भ्रमणको क्रममा बिहिवार राती काठमाडौं पुगेका छन् । जनरल ब्रोन चार दिने नेपालको औपचारिक भ्रमणको सिलसिलामा बिहिवार काठमाडौं अवतरण गरेका हुन् । नेपाली सेनाका उपरथी ईश्वर हमालले ब्रोनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

सैनिक स्रोतले दिएको जानकारीअनुसार ब्रोनले शुक्रवार टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्ने कार्यक्रम छ । त्यसका साथै जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ ।
सैनिक जनसम्र्पक निर्देशनालयकाअनुसार प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग समेत ब्रोनले जङ्गी अड्डामा द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ । ब्रोनको नेपाल भ्रमणलाई कुटनितिक वृतमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

अमेरिकाकी प्रमुख उपसहायक विदेश मन्त्री एलिस जी. वेल्सले गत साता विविसीसंग कुरा गर्दै अमेरीकी सरकार नेपाली सेनासंग मिलेर काम गर्न इच्छुक रहेको बताएकी थिईन । वेल्सको भनाई सार्वजकि भएको एक साता नवित्दै अमेरीकी सेना प्रमुखको भ्रमण हुनु संयोग मात्र नभएको उच्च स्रोतको दाबी छ । उनले दुई मुलुकका सेनाबीचको सम्बन्धलाई पनि अझै घनिभुत बनाउने योजना रहेको समेत खुलाएकी थिईन ।

वेल्सले भनेकी थिईन् ‘हाम्रो मुलुकको सेना र नेपाली सेनाबीच पनि घनिष्ठ सम्बन्ध छ, भुकम्पको बेला समेत अमेरीकी सेनाको एसिया प्रसान्त क्षेत्रीय कमाण्डले नेपालमा सहयोग गरेको थियो, हामीले दुई मुलुकका सेनाको सम्बन्ध बढाउनेमा सोचिरहेका छौं ।’

उनले दुवै देशका सेनाको सम्बन्ध अघि बढाउने कुरा आफ्नो सरकारको प्राथमिकतामा रहेको समेत खुलासा गरेकी थिईन ।

सैनिक जनसम्र्पक निर्देशनालयले विज्ञप्ती जारी गर्दै भनेको छ ‘उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र अमेरिकाको सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास सेनाले लिएको छ । ’

पछिल्लो समय अमेरीकी सेना र नेपाली सेनाबीच घनिष्ट सम्बन्ध रहेको छ । क्षत्री प्रधानसेनापति बनेपछि सबैभन्दा बढी अमेरीकाको चार पटक औपचारीक भ्रमणमा अमेरीका पुगेका थिए । अमेरीकी सेनाले नेपाली सेनालाई हेलिकोप्टर र तालिमलगायत ठुलो परिणाममा सैन्य सहयोग गर्दै आएको छ ।

अमेरीकी सेना प्रमुख नेपाल भ्रमणमा आएकै बेला बेलायती सेना प्रमुख समेत हाल काठमाडौंमै छन् भने भारतिय सेना प्रमुख विपिन रावत पनि नेपालको औपचारीक भ्रमणमा आउदैं छन् । केही समयअघि मात्र म्यानमारका सेना प्रमुख नेपाल भ्रमणमा आएका थिए ।

प्रधानसेनापति क्षत्रीको कार्यकालमा इतिहासमा सबैभन्दा बढी उच्च तहको सैनिक नेतृत्वको नेपाल भ्रमण भएको छ । उनले सैन्य कुटनितिलाई मजबूत बनाउनुपर्ने धारणा समेत राख्दै आएका छन् ।

यो पनि पढनुहोस् ।

बामपन्थी नेतृत्वको सरकार र सेनासंग काम गर्न हामी आंतुर छौं :अमेरिकी प्रमुख उपसहायक विदेश मन्त्री

प्रतिक्रिया दिनुहोस
Advertisement