किन भयो अमेरिका-इरान शान्ति वार्ता असफल ?

किन भयो अमेरिका-इरान शान्ति वार्ता असफल ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाकिस्तानको राजधानी इस्लामाबादमा लगातार २१ घण्टासम्म भएको अमेरिका र इरानबीचको शान्ति वार्ता निष्कर्षविहीन बनेपछि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीतिक तनाव थप बढ्ने संकेत देखिएको छ ।

लामो छलफल र वार्तामा ठोस सहमति हुन नसकेपछि अमेरिकी र इरानी वार्ता टोली आ–आफ्नो देश फर्किएको छ । अमेरिकाको वार्ता टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका थिए । यो वार्ता ४७ वर्षपछि दुई देशबीच भएको प्रत्यक्ष उच्चस्तरीय संवाद थियो ।

तर प्रमुख मुद्दाहरूमा गहिरो मतभेदका कारण वार्ता अन्ततः निष्कर्षविहीन बनेको हो । वार्तामा अमेरिकी पक्षले इरानलाई आफ्नो आणविक कार्यक्रम पूर्णरूपमा रोक्न दबाब दिएको थियो भने इरानले हर्मुज जलमार्गमाथिको नियन्त्रण, अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने, युद्ध क्षतिपूर्ति उपलब्ध गराउने तथा आफ्नो मिसाइल कार्यक्रमबाट पछि नहट्ने अडान राखेको थियो ।

यी मूलभूत मुद्दामा सहमति जुट्न नसक्दा वार्ता भंग भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । वार्ता असफल भएसँगै यसअघि घोषणा गरिएको दुई हप्ते अस्थायी युद्धविराम पनि संकटमा परेको छ ।

विश्लेषकहरूका अनुसार अब पुनः सैन्य आक्रमण बढ्न सक्ने जोखिम उच्च देखिएको छ । विशेषगरी महत्त्वपूर्ण हर्मुज जलमार्ग प्रभावित हुँदा विश्व ऊर्जा आपूर्तिमा गम्भीर असर पर्न सक्ने चिन्ता बढेको छ । यसैबीच अमेरिकाले जलमार्ग खुला राख्न आवश्यक परे सैन्य तयारी गर्न सक्ने संकेत दिएको छ भने इरानले आफ्नो सार्वभौमिक अधिकार र सुरक्षा चासोलाई प्रमुख प्राथमिकतामा राख्ने जनाएको छ ।

दुवै पक्षबीच आरोप–प्रत्यारोप पनि तीव्र बनेको छ । अमेरिकाले इरानलाई सम्झौतामा तयार नभएको आरोप लगाएको छ । इरानले भने अमेरिकाबाट अत्यधिक र एकपक्षीय माग आएको प्रतिक्रिया दिएको छ ।

वार्ता असफल भएपछि इस्लामाबादमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी उपराष्ट्रपति भान्सले आफूहरूले गर्न सक्ने अन्तिम र सबैभन्दा उत्कृष्ट प्रस्तावसहित फर्किन लागेको बताए।

‘इरानी प्रतिनिधिमण्डलका अनेकौँ प्रयासका बावजुद अमेरिकी पक्षबाट अगाडि सारिएका अनुचित मागहरूले वार्तामा प्रगति हुनबाट रोकिदिए। यसरी वार्ता टुङ्गियो’ इरानको सरकारी प्रसारक आईआरआईबीले टेलिग्राममा गरेको एउटा पोस्टमा उल्लेख छ।

अमेरिकाका अनुचित मागहरूले युद्ध अन्त्य गराउने वार्तालाई विफल बनाइदिएको इरानको दाबी छ । केही अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार प्राविधिक तथा कार्यस्तरमा संवाद कायमै रहने सम्भावना छ भने आवश्यक दस्तावेज आदान–प्रदान पनि हुन सक्ने संकेत देखिएको छ । अबको अवस्था कूटनीतिक पहल र शक्ति सन्तुलनको रणनीतिमा निर्भर रहने विश्लेषकहरुको भनाइ छ ।

पाकिस्तानको आग्रह

शान्तिवार्ताको मध्यस्थता गरेको देश पाकिस्तानका विदेशमन्त्रीले दुवै पक्षले युद्धविरामप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिनु अत्यावश्यक रहेको बताएका छन् ।

‘हामीलाई आशा छ कि यो सिङ्गो क्षेत्र र त्यसबाहिर पनि दीर्घकालीन शान्ति र समृद्धि हासिल गर्न सकारात्मक प्रयासलाई जारी राख्ने छन्,’ सामाजिक सञ्जाल एक्समा राखिएको वक्तव्यमा उल्लेख छ।

वार्ताबारे घोषणासँगै ‘इस्लामाबाद टक्स’ अर्थात्‌ इस्लामाबाद वार्ता लेखिएका होर्डिङ बोर्डहरू कामदारले हटाउन थालेका छन् ।