काठमाण्डु – इरानसँगको युद्धमा अमेरिकाले दुई हप्तामै अर्बो डलर खर्च गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका शीर्ष आर्थिक सल्लाहकारका अनुसार इरानसँग युद्ध लड्न अमेरिकाको १२ अर्ब डलर अर्थात् १७ खर्ब ७५ अर्ब रुपैयाँभन्दा धेरै खर्च भएको छ ।
फेब्रुअरी २८ मा इजरायलसँग मिलेर इरानमाथि संयुक्त आक्रमण सुरू गरेदेखि अमेरिकाले १२ अर्ब डलर खर्च गरिसकेको ट्रम्पका शीर्ष आर्थिक सल्लाहकारले बताएको समाचार संस्था अलजजीराले जनाएको छ ।
युद्धको लागत बढ्दै जाँदा र इरान युद्ध कहिले सकिन्छ भन्ने अस्पष्ट नहुँदा ट्रम्प प्रशासनमाथि दबाब बढ्दै गएको छ ।
ह्वाइट हाउसका राष्ट्रिय आर्थिक परिषद्का निर्देशक केभिन ह्यासेटले इरान युद्धको पहिलो हप्तामा मात्र ५ अर्ब डलरभन्दा धेरैको हतियार खर्च भएको बताएका छन् ।
यद्यपि उनले इरान युद्धमा ठूलो रकम खर्च भइरहे पनि यसले अमेरिकी अर्थतन्त्रमा खासै असर नगर्ने दाबी गरेका छन् ।
विश्वको २० प्रतिशत तेल आपूर्ति हुने स्ट्रेट अफ हर्मुजमा इरानी अवरोधका कारण विश्व बजारमा इन्धनको मूल्य बढेको छ ।
यसैबीच अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानमाथिको आक्रमण झनै तीव्र बनाउने चेतावनी दिएका छन् ।
युद्धको खर्च बढिरहँदा रक्षामन्त्रीको भनाइसँगै आगामी दिनमा सैन्य खर्च झन् बढ्न सक्ने सङ्केत गरेको छ ।




प्रतिक्रिया