काठमाण्डु – यूएस ओपन टेनिसमा इतिहासकै सबैभन्दा ठूलो पुरस्कार राशिको घोषणा गरिएको छ । यूएस ओपन टेनिस प्रतियोगिता, २०२५ का लागि टेनिस इतिहासकै सबैभन्दा ठूलो पुरस्कार राशिको घोषणा गरिएको हो । प्रतियोगिता अमेरिकाको फ्लशिङ मिडोजमा आगामी २४ अगस्टदेखि ७ सेप्टेम्बरसम्म हुनेछ ।
प्रतियोगिताका पुरुष तथा महिलातर्फका सिङ्गल्स विजेताले ५ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछन्। उक्त रकम सन् २०२४ मा दिइएको ३.६ मिलियन डलरको तुलनामा ३९ प्रतिशतले वृद्धि भएको हो। त्यसैगरी प्रतियोगिताको कुल पुरस्कार राशिसमेत २० प्रतिशतले बढाएर ९० मिलियन डलर पुर्याइएको छ।
यसै वर्षको विम्बल्डन टेनिसमा कुल पुरस्कार राशि ५३.५ मिलियन पाउण्ड रहेको थियो, जहाँ पुरुष र महिला विजेताले समान ३ मिलियन पाउण्ड जितेका थिए।
पहिलो चरणमै पराजित हुने खेलाडीहरूलाई समेत यूएस ओपनमा १ लाख १० हजार डलर दिइनेछ, जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो।
यसअघि, शीर्ष २० पुरुष र महिला खेलाडीहरूले चार ग्रान्ड स्ल्याम प्रतियोगिताहरूलाई पत्र लेख्दै प्रतियोगिताबाट प्राप्त राजस्वमा खेलाडीहरूको हिस्सेदारी बढाउन माग गरेका थिए।
यस वर्ष पुरुष र महिला डबल्सतर्फ कुल ४.७८ मिलियन डलर पुरस्कार राखिएको छ, जुन अघिल्लो वर्षको तुलनामा २३ प्रतिशत बढी हो।
यसपटक पहिलो पटक पुरुष डबल्स, महिला डबल्स तथा मिक्स्ड डबल्सका विजेताले प्रति टिम १ मिलियन डलर पुरस्कार पाउनेछन्।
त्यस्तै, मुख्य ड्रमा सहभागी खेलाडीहरूका लागि यात्रा र अन्य खर्चका लागि ५ मिलियन डलर सहयोगस्वरूप दिइनेछ। साथै, पुरुष र महिला छनोट प्रतियोगिताको पुरस्कार राशिसमेत १० प्रतिशतले बढाएर ८ मिलियन डलर पुर्याइएको छ।




प्रतिक्रिया