अमेरिका र साउदी अरबबीच १ खर्ब ४२ अर्बको रक्षा सम्झौता

अमेरिका र साउदी अरबबीच १ खर्ब ४२ अर्बको रक्षा सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिका र साउदी अरबले एक खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी भ्रमणका क्रममा दुई देशबीच सम्झौता भएको हो ।

सम्झौतामा राष्ट्रपति ट्रम्प र साउदी युवराज मोहम्मद बिन सलमान (एमबीएस) ले हस्ताक्षर गरेका छन् । यो सम्झौता दुई देशबीच भएको इतिहासकै ठूलो रक्षा सम्झौता रहेको ह्वाइट हाउसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सम्झौताअनुसार साउदी अरबले अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध लडाइँसम्बन्धी उपकरण तथा सेवाहरू प्राप्त गर्नेछ ।

सम्झौतामा वायु सेनाको उन्नति र अन्तरिक्ष क्षमता, हवाई तथा क्षेप्यास्त्र रक्षा, समुद्री तथा तटीय सुरक्षा, सीमा सुरक्षा र स्थल सेनाको आधुनिकीकरण तथा सूचना तथा सञ्चार प्रणालीको स्तरोन्नति लगायतका विषय रहेका बीबीसीले जनाएको छ ।

दुई देशबीच ऊर्जा, खनिज स्रोत, सङ्क्रामक रोगसम्बन्धी सहयोगलगायत विषयमा पनि सहमति भएको छ । साउदी अरबले अमेरिकामा लगानी गर्ने प्रतिबद्धतासमेत जनाएको ह्वाइट हाउसले उल्लेख गरेको छ ।

त्यस्तै, साउदी अरबले १४ अर्ब २० करोड डलरको ग्यास टर्बाइन र ऊर्जा समाधान तथा ४ अर्ब ८० करोड डलरको बोइङ ७३७–८ यात्रुवाहक विमान निर्यात गर्ने भएको छ ।

यसपटकको भ्रमणबाट ट्रम्पले साउदी अरबबाट १० खर्ब डलरसम्मको लगानी भित्र्याउने बताइएको छ ।

साउदीसँग हतियार सम्झौतामा हस्ताक्षरपछि ट्रम्पले रियादमा आयोजित साउदी-अमेरिका लगानी मञ्चलाई सम्बोधन गरेका छन्।

भाषणको सुरुवात उनले साउदी अरब धेरै राम्रो ठाउँ हो र यहाँका मानिस पनि धेरै राम्रा छन् भन्दै प्रशंसा गरे। त्यसपछि उनले युवराजलाई धन्यवाद दिए र उनलाई असाधारण व्यक्ति भने।