राहत तथा पुनर्स्थापनाका लागि अमेरिकाद्वारा थप सहायता घोषणा

राहत तथा पुनर्स्थापनाका लागि अमेरिकाद्वारा थप सहायता घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपीडितका लागि अमेरिकाले थप राहत तथा पुनर्स्थापनाको सहायता घोषणा गरेको छ।

नेपालको बाढीपीडितको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन अमेरिकाको विदेश मन्त्रालयले थप वित्तीय सहायता स्वीकृत गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयको इन्टरनेसनल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट अफेयर्स ब्युरोले नेपाल प्रहरीलाई फोरेन्सिक सहायता तथा डीएनए किट उपलब्ध गराउन १० लाख डलर स्वीकृत गरेको छ ।

यससँगै अमेरिकाले हालसम्म कुल ५० लाख डलरभन्दा बढीको मानवीय, स्वास्थ्य तथा फोरेन्सिक सहायता उपलब्ध गराइसकेको जनाएको छ ।

प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको पनि विदेश मन्त्रालय जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अमेरिकी सहायताअन्तर्गत विश्व खाद्य कार्यक्रम मार्फत ३० लाख डलर बराबरको खाद्य तथा लजिस्टिक सहायता समावेश गरिएको छ । यस सहायताबाट बाढी प्रभावित १० हजार परिवारलाई तीन महिनासम्म आपत्कालीन भोजन उपलब्ध गराइने छ ।

सम्पर्कविहीन बनेका दुर्गम समुदायसम्म पुग्न हवाई तथा स्थल यातायातको प्रयोग गरी मानवीय सहायता आपूर्ति शृंखलामा देखिएका अवरोध हटाउने प्रयास भइरहेको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कैथोलिक रिलिफ सर्भिसमार्फत ६ लाख ८५ हजार डलरको सहायता भोजन, आश्रय, खानेपानी, सरसफाइ, सुरक्षा तथा वित्तीय सहयोगका लागि उपलब्ध गराइएको अमेरिकाले जनाएको छ । यसअन्तर्गत अत्यावश्यक आश्रय सामग्री, भोजन, कम्बल, प्लास्टिक सिट, पाल, सौर्य बत्ती तथा डिग्निटी किट वितरण गरिँदै गरेको बताइएको छ । बालबालिकाको सहयोगका लागि बालमैत्री स्थानसमेत सञ्चालन भइरहेको अमेरिकाले जनाएको छ ।

यस्तै झपिगो, एफएचआई–३६० र युनिसेफमार्फत स्वास्थ्य, पोषण तथा सरसफाइका लागि ३ लाख ६५ हजार डलर उपलब्ध गराइएको जनाइएको छ । उता, एफबीआईका फोरेन्सिक विशेषज्ञले विपद्पीडितको पहिचानका लागि नेपाल प्रहरीसँग मिलेर काम गरिरहेका बताइएको छ । यी मानवीय तथा फोरेन्सिक विशेषज्ञले अमेरिकी नागरिकका परिवार तथा यस त्रासदीका सम्पूर्ण पीडितको पहिचानमा अधिकारीलाई सहयोग गरिरहेका छन् ।

अमेरिकी सेनाले नेपालको नेतृत्वमा भइरहेको खोज, उद्धार तथा राहत अभियानका लागि ५ हजार विशेष विपद् पीडित पुनःप्राप्ति सामग्री, ५०० प्राथमिक उपचार किट, स्ट्रेचर तथा फ्रन्ट–इन्ड लोडर उपलब्ध गराएको अमेरिकाले जनाएको छ । चार सदस्यीय अमेरिकी सैन्य सिभिल अफेयर्स टोली मानवीय तथा विपद् सहायता परियोजना सञ्चालन गर्न घटनास्थलमै परिचालित रहेको पनि अमेरिकाले जनाएको छ ।

अमेरिका परिस्थितिअनुसार नेपाल सरकारसँग समन्वय गरी थप सहायता प्रदान गर्न पूर्ण रूपमा तयार रहेको जनाएको छ ।