अमेरिकाले गर्‍यो भेनेजुएलामा आक्रमण

अमेरिकाले गर्‍यो भेनेजुएलामा आक्रमण


काठमाण्डु – भेनेजुएलामा अमेरिकाले भीषण आक्रमण गरेको छ ।

राजधानी काराकासमा कम्तिमा सातवटा शक्तिशाली विस्फोटहरू भएका छन्। स्थानीय समय अनुसार शनिबार बिहान २ बजेतिर सुरु भएका यी विस्फोटहरूमा विमानहरूको आवाज सुनिएको थियो।

ला कार्लोटा विमानस्थल र फुर्ते तिउना सैन्य अड्डा नजिकै धुवाँका मुस्लाहरू उठेका छन् भने सहरका दक्षिणी क्षेत्रहरू बिजुलीविहीन भएका छन् । विस्फोटपछि आतंकित बासिन्दाहरू सडकमा निस्किएका थिए।

भेनेजुएलाका स्थानीय सञ्चार माध्यमहरूले उत्तरको ला गुएरा राज्य र तटीय क्षेत्र हिगुएरोटेमा पनि विस्फोटको आवाज सुनिएको जनाएको छ ।

यो घटना अमेरिका र भेनेजुएलाबिच बढ्दो तनावको बिचमा भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागूऔषध तस्करीविरुद्ध जमिनमा कारबाही गर्ने बारम्बार चेतावनी दिएका थिए। अमेरिकाले भेनेजुएला नजिकै ठूलो सैन्य उपस्थिति बढाएको छ। यसअघि धेरै साना डुंगाहरूमा आक्रमण गरेको थियो।

विस्फोटको कारण तत्काल स्पष्ट भएको छैन। अमेरिकी अधिकारीहरूले कुनै टिप्पणी गरेका छैनन्।

अमेरिकी मिडिया आउटलेट सीबीएस न्यूजका अनुसार ट्रम्पले भेनेजुएला भित्रका सैन्य सुविधाहरू र धेरै प्रमुख स्थानहरू विरुद्ध आक्रमणको आदेश दिएका थिए।

यो घटना ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि केही हप्तादेखि लगातार दबाब सिर्जना गरेपछि भएको हो।

अमेरिकी राष्ट्रपतिले आफ्ना भेनेजुएली समकक्षी मदुरोमाथि लागुऔषध तस्करी र अपराधमार्फत अमेरिकामा घुसपैठ गरेको आरोप लगाउँदै आएका छन्। अमेरिकाले क्यारेबियन क्षेत्रमा लागुऔषध बोकेको शङ्कामा डुङ्गाहरूमाथि सैन्य कारबाही तीव्र पारिरहेको समयमा यो आक्रमण भएको हो।

भेनेजुएला सरकारबाट पनि तत्काल केही प्रतिक्रिया आएको छैन। केही स्रोतहरूले यो अमेरिकी हवाई आक्रमण भएको शंका गरेका छन्। तर आधिकारिक पुष्टि भएको छैन।

यो घटनाले क्षेत्रीय तनाव झन् बढाएको छ। यसलाई विश्वभर चासोको साथ हेरिएको छ।

प्रत्यक्षदर्शीका अनुसार सहरको मध्यभागमा रहेको ‘ला कार्लोटा’ सैन्य एयरफिल्ड र मुख्य सैन्य आधार शिविर ‘फुएर्टे ट्युना’ मा आक्रमणको प्रभाव देखिएको छ। यी दुवै स्थानमा विस्फोट भएको भिडियोहरू सार्वजनिक भएका छन्।

अमेरिकाले राष्ट्रपति निकोलस मदुरो अवैधानिक रूपमा निर्वाचित भएको र उनी व्यक्तिगत रूपमै लागुऔषध तस्करीमा संलग्न रहेको दाबी गरेको छ। यता भेनेजुएला सरकारले भने वासिङ्टनका पछिल्ला कदमहरू राष्ट्रपति मदुरोलाई सत्ताबाट हटाउन र भेनेजुएलाको तेल भण्डारमाथि नियन्त्रण जमाउन केन्द्रित रहेको बताएको छ। प्रतिबन्धित तेल ट्याङ्करहरू जफत गर्नु पनि अमेरिकाको सोही योजनाको हिस्सा भएको भेनेजुएलाको भनाइ छ।