विपद् उद्धारका लागि अमेरिकाले विमान उपलब्ध गराउने

विपद् उद्धारका लागि अमेरिकाले विमान उपलब्ध गराउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राज्य अमेरिकाले विपद् उद्धार तथा राहत कार्यमा सहयोग गर्न नेपाललाई विमान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

विमान उपलब्ध गराउने दिशामा अमेरिकी विदेश मन्त्रालय अन्तर्गतका ३ वटा विभिन्न अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

२ देशहरूबीचको दौत्य सम्बन्धलाई सुदृढ तुल्याउने क्रममा सहयोगको प्रतिबद्धता व्यक्त गरिएको छ । सन् २०२१ मा अमेरिकाले सन् २०२५ जनवरीसम्म ३ करोड ७० लाख डलर बराबरका २ वटा एम२८ स्काइट्रक उपलब्ध गराउने सहमति भएको दूतावासले जनाएको छ ।

‘छोटा धावनमार्गमा उडान र अवतरण गर्नसक्ने क्षमता भएका स्थिर पखेटा भएका विमान हुन् । यीमध्येको एउटा विमान हवाई एम्बुलेन्स हो,’ दूतावासले भनेको छ । अनुदान कार्यक्रममा विमानचालक र मर्मतकर्ताका लागि तालिमको व्यवस्थाका साथै पाटपुर्जा सहयोग समेत समावेश गरिएको छ ।

सन् २०२२ मा अमेरिकाले नेपाललाई २ वटा बेल ४१२ हेलिकप्टर उपलब्ध गराउन सहमति जनाएको थियो । ती हेलिकप्टरहरू आगामी केही वर्षमा उपलब्ध हुने अपेक्षा गरिएको छ । ४ करोड ४० लाख डलरको अनुदान कार्यक्रममा विमान चालक र मर्मतकर्ताका लागि तालिमको व्यवस्थाका साथै बन्दोबस्ती सहयोग समेत समावेश गरिएको छ ।

व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्माले गत साता आफ्नो नेपाल भ्रमणका क्रममा अमेरिकाले अतिरिक्त हेलिकप्टर, तालिम र सहायता उपकरणका लागि थप १० करोड डलरको अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यद्यपि, सहायता अमेरिकी कंग्रेसबाट सूचना प्राप्त भई आर्थिक स्रोतको उपलब्धता सुनिश्चित भएपछि प्रदान गरिने दूतावासको भनाइ छ ।