काठमाण्डु – अमेरिकाले एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार नेपालकै भएको जनाएको छ । काठमाण्डुस्थित अमेरिकी दूतावासले शनिबार सांझ विज्ञप्ति जारी गर्दै एमसीसी अनुदान अमेरिकी जनताका तर्फबाट उपहार भएको जनाइएको छ । विज्ञिप्तिमा भनिएको छ ‘नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा र यो केवल नेपालको निर्णय हो ।’
चिनियां विदेशमन्त्रालयका प्रवक्ताले शुक्रबार नेपालमा अमेरिकाले एससीसी पारित गर्न बलजफ्ती कुटनीति अपनाएको आरोप लगाएका थिए । प्रवक्ता वांग वेनले अमेरिकाको उक्त कदमको चीनले प्रतिरोध गर्ने चेतावनी समेत उनले दिएका थिए ।
उनको भनाईपछि अमेरिकाले भोलीपल्ट जवाफ फर्काएको हो ।
यस्तो छ विज्ञप्ति
नेपाल – यो वर्ष नेपाल र अमेरिकाबिचको सम्बन्धको ७५औँ वर्ष हो । यी ७५ वर्षमा नेपालमा विशाल परिवर्तनहरू भएका छन् । यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ । नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो ।
५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान अमेरिकी जनताका तर्फबाट उपहार हो र हाम्रा मुलुकहरूबिचको एउटा साझेदारी हो जसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउनेछ र नेपालीहरूको जीवनमा सुधार गर्नेछ । यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ।




प्रतिक्रिया