काठमाण्डु – जारी युद्ध अन्त्य गर्न अमेरिका र इरान सम्झौता नजिक पुगेका छन् ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले आफूहरू सम्झौताको निकै नजिक पुगेको बताएका छन्। यद्यपि, सम्झौतालाई अन्तिम रूप नदिएसम्म यसको भित्री बुँदाहरूबारे अनुमान लगाउनबाट बच्नुपर्ने उनको भनाइ छ।
इरानी विदेशमन्त्रीले सामाजिक सञ्जाल एक्समा लेखेको उक्त पोस्टलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ नामक सामाजिक सञ्जालमार्फत सेयर पनि गरेका छन्। ट्रम्पको यस कदमले दुई देशबीच प्रस्तावित सम्झौताका सर्तहरूमा असहमति रहे पनि वार्ता सही दिशामा अघि बढिरहेको बलियो संकेत दिएको छ।
सम्झौताअनसार अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने, रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मोज जलमार्ग पुनः खुला गर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने विषयमा सहमति जुटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
यस्तै यो सम्झौता विश्वास वा आश्वासनमा नभई कामको परिणाममा आधारित हुने जनाइएको छ। इरानले आफ्ना प्रतिबद्धताहरू पूरा गरेपछि मात्र आर्थिक सुविधाहरू पाउने सम्झौतामा जनाइएको छ ।
यसैगरी इरानले हर्मोज पूर्ण रूपमा खुला गर्ने र त्यसको बदलामा अमेरिकाले इरानी बन्दरगाह र जहाजहरूमाथि लगाएको नौसैनिक नाकाबन्दी तत्काल हटाउने सम्झौतामा उल्लेख छ ।
समझदारी पत्रमा हस्ताक्षर भएलगत्तै ६० दिनको प्राविधिक वार्ताको चरण सुरू हुनेछ। यसअन्तर्गत इरानले कहिले पनि आणविक हतियार विकास वा प्राप्त नगर्ने अनिश्चितकालीन प्रतिबद्धता जनाउनुपर्नेछ। इरानको संवर्धित युरेनियमको भण्डारलाई त्यहीँ नष्ट गरी देशबाहिर लैजाने सहमति भएको छ, जसको प्राविधिक विधि अर्को चरणको वार्तामा तय गरिनेछ।
यसैबीच, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पनि शान्ति सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगिसकेको दाबी गरेका छन्। पाकिस्तानको निरन्तरको ठूलो मध्यस्थता प्रयासका बीच सम्झौता भाँड्न खोज्ने तत्वहरूले भ्रम फैलाइरहेको भन्दै उनले शान्ति सम्झौताको अन्तिम मस्यौदामा सहमति बनिसकेको र पाकिस्तान अब आगामी प्रक्रियाका लागि दुवै पक्षसँग मिलेर काम गरिरहेको जनाइका छन्।
अर्कातर्फ, अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले सम्झौताका विषयमा बजारमा अनेकौँ हल्ला र गलत सूचना फैलाइएको बताउम्दै इरानलाई कुनै पनि नगद रकम नदिइने र यदि इरानले आफ्ना जिम्मेवारीहरू पूरा गरेमा मात्र उसले र पूरै क्षेत्रले आर्थिक लाभ पाउने बताएका छन्।
अमेरिका–इरान युद्ध गत फेब्रुअरी २८ मा इरानका विभिन्न स्थानमा भएको हवाई आक्रमणबाट सुरू भएको थियो। त्यसको जवाफमा इरानले इजरायल र खाडी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि हमला गर्नुका साथै विश्वको झन्डै २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास ओसारपसार हुने मुख्य जलमार्ग हर्मोज ठप्प पारेको थियो।
गत अप्रिलमा युद्धविरामको सहमति भए पनि दुवै देशबीच छिटपुट आक्रमणहरू जारी थिए, जसमा यसै साता भएका दुई चरणका जवाफी हमलाहरू समेत सामेल छन्।




प्रतिक्रिया