काठमाण्डु – ईरानसँग सम्बन्धित तनाव र सम्भावित युद्धका कारण अरब क्षेत्रका क्षेत्रीय र घरेलु मिडियामा खाडी क्षेत्रको सुरक्षाबारे निरन्तर बहस भइरहेको छ ।
यस क्रममा गल्फ कोपरेशन काउस्निल (जीसीसी)देशहरूको अमेरिकाप्रतिको दृष्टिकोण फरक–फरक देखिएको छ ।
मार्च १६ मा रोयटर्सले खाडी देशहरूले होर्मुज संकट गहिरिँदै जाँदा ईरानलाई स्थायी रूपमा निष्क्रिय बनाउन अमेरिकामाथि दबाब दिएका रिपोर्ट प्रकाशित गरेको छ ।
तर केही अरब मिडियाले अमेरिकाको ईरानमाथि आक्रमण गर्ने निर्णयको आलोचना गर्दै वाशिङ्टनले खाडी देशहरू नै निशाना बन्न सक्ने जोखिमलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
कतिपय रिपोर्टहरूमा खाडी क्षेत्रका विश्लेषकहरूको भनाइ उद्धृत गर्दै जीसीसी देशहरूले अमेरिकामाथिको आफ्नो लामो समयदेखिको सुरक्षा निर्भरता पुनः समीक्षा गर्न सक्ने भनिएको छ ।
त्यससँगै नाटो जस्तै साझा रक्षा प्रणाली बनाउने माग पनि पुनः उठाइएको छ । यसबीच धेरै मिडियाले खाडी देशहरूले तनाव कम गर्न गरिरहेका प्रयासहरूलाई पनि प्राथमिकता दिएका छन् ।
उनीहरू सैन्य टकराव रोक्ने, वार्ता र कूटनीति अघि बढाउने। विवाद समाधानमा संवादलाई प्राथमिकता दिने जस्ता पहलहरूमा जोड दिएका छन् ।
लेबनानको हिज्बुल्लाह समर्थक दैनिक अल–अखबारले खाडी देशहरूले वाशिङ्टनमाथि ईरानमाथि आक्रमण जारी राख्न दबाब दिइरहेको लेखेको छ ।
खाडी देशहरूले अमेरिकालाई युद्ध सुरु गर्न भनेका थिएनन्, तर अब धेरै देशहरू चाहन्छन् कि अमेरिका बीचमै नरोकिन्, ताकि ईरान फेरि तेल आपूर्ति मार्गलाई खतरा बनाउन नसकोस् ।
साउदी अरबस्थित गल्फ रिसर्च सेन्टरका अध्यक्ष अब्दुलअजीज सगीरले भने, ‘यदि अमेरिका आफ्नो अभियान पूरा नगरी पछि हट्यो भने खाडी देशहरूलाई एक्लै ईरानको सामना गर्नुपर्नेछ ।’
केही अरब मिडियाले भने अमेरिकी नीतिको कडा आलोचना पनि गरेका छन् ।
लन्डनस्थित दैनिक अल–अरब का अनुसार अमेरिकी गुप्तचर एजेन्सीहरूले आक्रमण भएमा ईरानले खाडी देशहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएका थिए । तर अमेरिका सम्भवतः यो जोखिमलाई बेवोस्ता गरेको हुन सक्ने पनि ति दैनिकले लखेको छ ।
यसलाई या त खुफिया मूल्याङ्कनको कमजोरी वा राजनीतिक प्राथमिकताको प्रभाव भनेर विश्लेषण गरिएको छ ।
अरब टेलिभिजन च्यानलहरूले अमेरिकी सहयोगी देशहरूको प्रतिक्रियालाई पनि प्राथमिकता दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनालल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज खुला राख्न अन्तर्राष्ट्रिय गठबन्धन बनाउन अपिल गरेका थिए । उनको अपिलमा केहीले समर्थन गरे केहीले शंका व्यक्त गरे । केही देशले त खुलेर विरोध पनि गरेका थिए ।
कतारस्थित अल जजिराका अनुसार धेरै देशहरू सावधान र हिचकिचाउने अवस्थामा देखिएका छन् ।
अरब मिडियामा समग्र रूपमा तीन प्रमुख धार देखिन्छन् ।
पहिलो अमेरिकालाई ईरानविरुद्ध कडा कदम चाल्न दबाब दिने दृष्टिकोण, दोस्रो अमेरिकी नीतिको आलोचना र जोखिमप्रति चिन्ता र तेस्रो कूटनीति र तनाव घटाउने प्रयासलाई प्राथमिकता दिने आवाज ।
यसले के देखाउँछ भने खाडी क्षेत्रमा ईरानसँगको तनाव केवल सैन्य विषय मात्र नभई सुरक्षा, अर्थतन्त्र र क्षेत्रीय शक्ति सन्तुलनसँग जोडिएको जटिल मुद्दा बनेको छ ।




प्रतिक्रिया