काठमाण्डु – भारतको उत्तराखण्ड राज्यमा मंगलबार आएको भीषण बाढीमा हराइरहेकाहरूको खोजी कार्य तीव्र पारिएको छ।
उत्तराखण्ड राज्यको उत्तरकाशीस्थित हर्षिल क्षेत्रमा मंगलबार दिउँसो बाढी आउँदा ४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी बेपत्ता छन्।
अहिले त्यस क्षेत्रमा उद्धार तीव्र पारिएको छ। उद्धार तथा राहत टोलीहरू घटनास्थलमा परिचालित भएको र खोज कार्यलाई तीव्र पारिएको स्थानीय प्रशासनले जनाएको छ। बाढीले ९ जना भारतीय सेनाका सैनिक बेपत्ता भएका छन्।
भारतीय सेनाको टोलीले अहिलेसम्म २० जनालाई सुरक्षित रूपमा उद्धार गरेको छ। राहत कार्यलाई तीव्र बनाउन थप सेना पनि पठाइँदैछ।
प्रभावित क्षेत्रहरूमा आकस्मिक स्वास्थ्य शिविरहरू सञ्चालनमा ल्याइएका छन् भने खाद्यान्न, लत्ताकपडा र आवश्यक राहत सामग्रीहरू वितरण गर्ने काम भइरहेको छ।
भीषण वर्षापछि खीरगंगा नदीमा आएको बाढीले गंगोत्रीमार्गमा पर्ने धराली बजार तहसनहस बनाएको छ। नदी किनाराका बस्तीमा ठूलो क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा शहरको मध्य भागबाट बग्ने नदीमा अचानक ठूलो बाढी आएको र नदी किनारका घर र पसलहरु बगाएको देखिन्छ।
बाढीले २० भन्दा बढी होटल तथा होम स्टे र सैनिक क्याम्प पनि बगाएको छ। उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत क्षति गरेको छ।
भारतीय सेनाका १ सय ५० भन्दा बढी सुरक्षाकर्मी र स्थानीय प्रशासनको टोली उद्दारमा खटिएका छन् । लेदोसहितको बाढीका कारण उद्दारमा समेत कठिनाइ भइरहेको जनाइएको छ।
भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल मनीष श्रीवास्तवले धारालीको खीर गंगामा विनाशकारी भग्नावशेषपछि भारतीय सेना राहत र उद्धार कार्यमा संलग्न रहेको बताएका छन् ।
हर्षिलको सेनाको शिविरमा पानी पसेपछि ११ भारतीय सेनाका सैनिकहरू बेपत्ता भएको पनि जानकारी दिए । उनले शिविरमा पानी पसेपछि कुल ११ सैनिकहरू बेपत्ता भएपनि दुई सैनिकहरू सकुशल फेला परेको जानकारी गराए। ‘बाँकी ९ सैनिकहरू अझै बेपत्ता छन्। उनीहरूको खोजी जारी छ’, उनले भने ।
यस्तै त्यस क्षेत्रमा बाढीपछि ठाउँ–ठाउँमा पहिरो गएका छन् ।
बाढीपछि हर्सिल र धरालीका सडकहरूमा व्यापक रुपमा पहिरो गएका छन् । पहिरोका कारण विभिन्न राजमार्गहरू अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भएपनि खराब मौसमका कारण कठिन भएको छ ।
त्यस्तै बाढीपछि धराली र हर्सिलका विद्यालयहरू बन्द गरिएको छ । ती क्षेत्रका सम्पूर्ण शैक्षिक संस्थाहरू पूर्णरुपमा बन्द गरिएको छ । आपतकालीन सेवाहरू मात्रै सञ्चालन गरिएको मुख्यमन्त्री पुष्करसिंह दामीले बताएका छन् ।
मुख्यमन्त्री धामीले पीडितहरूलाई तत्काल खाना, आश्रय र औषधोपचारको व्यवस्था गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् । उनले बाढीबाट विस्थापित वा अलपत्र परेका व्यक्तिहरूसम्म छिटो राहत पुर्याउने सुनिश्चितता गर्न पनि आदेश दिएका छन् ।








प्रतिक्रिया