काठमाण्डु – वी-डेमले विश्वका विभिन्न देशहरूको प्रजातान्त्रिक स्तरको मूल्यांकन गर्दै सन् २०२५ को वार्षिक रिपोर्ट सार्वजनिक गरेको छ ।
रिपोर्ट २०२५ अनुसार नेपाल १७९ देशमध्ये ५५औँ स्थानमा रहेको छ । रिपोर्टले नेपाललाई ‘निर्वाचनीय लोकतन्त्र’ को रूपमा वर्गीकृत गरेको छ र यसलाई लिबरल डेमोक्रेसी इन्डेक्स (एलडीआई) मा ०.५२ स्कोर प्रदान गरेको छ । यस इन्डेक्समा नेपालले भारतसहित धेरै छिमेकी देशहरूको तुलनामा राम्रो स्थिति राखेको देखाइएको छ ।
नेपाललाई लाभ
रिपोर्ट भन्छ, ‘दक्षिण र मध्य एसियामा केवल २ प्रतिशत जनसंख्या (निर्वाचनीय) लोकतन्त्रको लाभ उठाइरहेका छन् । यी श्रेणीमा नेपाल परेको छ । नेपालसँगै श्रीलंका पनि यहि श्रेणीमा छन् । ‘ग्रे जोन’ लोकतन्त्रमा भुटान, मंगोलिया र माल्दिभ्सलाई राखिएको छ ।
पछिल्ला ५० वर्षमा पहिलो पटक अमेरिका ‘उदार लोकतन्त्र’ रहन नसकेको जनाइएको छ । रिपोर्ट अनुसार अहिले विश्वको ७४ प्रतिशत जनसंख्या तानाशाही शासनको अधीनमा छ ।
रिपोर्टले विश्वमा लोकतन्त्रभन्दा तानाशाही भएका देशको संख्या बढ्दै गएको उल्लेख गरेको छ । यसमा भारत र अमेरिका अग्रस्थानमा छ ।
२०३५को अन्त्यसम्म विश्वमा ९२ वटा तानाशाही र ८७ वटा लोकतान्त्रिक देश रहेको रिपोर्टमा जनाइएकोछ । जसमध्ये भारत विश्वका सबैभन्दा बढी जनसंख्या भएका ‘निर्वाचनीय तानाशाही’ देश भएको उक्त रिपोर्टमा भनिएको छ ।
यो रिपोर्ट विश्वभर सबैभन्दा धेरै उद्धृत गरिने रिपोर्टहरूमध्ये एक हो र यसलाई स्वीडेनको गोथेनबर्ग विश्वविद्यालयको वी–डेम इन्स्टिच्युटले प्रकाशित गर्छ ।
२०२६ को रिपोर्टको शीर्षक ‘डेमोक्रेसी रिपोर्ट २०२६ : अन¥याभलिङ द डेमोक्रेटिक एरा’ हो ।
विश्वका सामान्य नागरिकका लागि लोकतन्त्रको स्तर १९७८ को स्तरमा पुगेको छ । १९७४ मा पोर्चुगलबाट सुरु भएको ‘लोकतान्त्रीकरणको तेस्रो लहर’ले ल्याएको प्रगति लगभग समाप्त भइसकेको रिपोर्टम उल्लेख छ ।
२०२५ को अन्तसम्म विश्वका पाँच सबैभन्दा बढी जनसंख्या भएका देशमध्ये चार तानाशाही देश छन् जसमा भारत, चीन, इन्डोनेसिया र पाकिस्तान परेका छन् । रिपोर्ट अनुसार डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका पनि तीव्र गतिमा तानाशाहीतर्फ बढिरहेको छ ।
रिपोर्ट अनुसार २०२५ मा ‘निर्वाचनीय तानाशाही’ सबैभन्दा बढी जनसंख्या भएको शासन प्रकार बनेको छ, जसमा विश्वको लगभग आधा जनसंख्या करिब ४६ प्रतिशत (३.८ अर्ब मानिस) परेका छन् ।
भारत, पाकिस्तान र हालै इन्डोनेसिया विश्वका सबैभन्दा बढी जनसंख्या भएका निर्वाचनीय तानाशाही देशहरूमा पर्छन् ।
भारत अझै ‘निर्वाचनीय तानाशाही’मै छ, यस श्रेणीमा यो २०१७ मा सामेल भएको थियो । १७९ देशमध्ये भारत उदार लोकतन्त्र सूचकांकमा १०५औँ स्थानमा छ । गत वर्ष यो १००औँ स्थानमा थियो ।
रिपोर्ट अनुसार दक्षिण र मध्य एसियामा प्रवृत्ति फरक छन् । तर औसत स्तरमा यो क्षेत्र विश्वका अधिकांश भागभन्दा धेरै तल छ र अपेक्षाकृत स्थिर छ । तथापि यहाँका औसत नागरिक सबैभन्दा बढी तानाशाहीको सामना गरिरहेका छन् ।
अफगानिस्तान, बंगलादेश र पाकिस्तानमा तानाशाहीतर्फ झुकाव पनि यसमा महत्वपूर्ण योगदान दिइरहेको छ । यो रिपोर्ट बंगलादेशमा चुनाव हुनुअघि प्रकाशित गरिएको थियो, जसमा यस वर्ष तारिक रहमान प्रधानमन्त्री चयन भएका थिए ।
रिपोर्टमा भनिएको छ, ‘सन् २००९ देखि भारत तानाशाहीतर्फ बढ्दै र्गएको छ । यहाँ लोकतान्त्रिक संस्थाहरूलाई क्रमशः र योजनाबद्ध रूपमा समाप्त भइरहेको छ ।
‘भारतमा सत्तारूढ़ बहुलतावाद–विरोधी, हिन्दू–राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) र प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा लोकतन्त्र कमजोर पारिएको छ । अभिव्यक्ति स्वतन्त्रता र मिडियाको स्वतन्त्रतामा गिरावट आएको छ भने सरकारको आलोचना गर्ने पत्रकारहरूको उत्पीडन, तथा नागरिक समाज र विपक्षमा आक्रमण समावेश छन्,’ रिपोर्टमा भनिएको छ ।
पश्चिमी युरोप र उत्तर अमेरिकामा औसत नागरिकका लागि लोकतन्त्रको स्तर पछिल्ला ५० वर्षमा सबैभन्दा न्यूनतम स्तरमा पुगेको र यसको मुख्य कारण अमेरिकामा चलिरहेको तानाशाही प्रवृत्ति रहेको पनि रिपोर्टमा जनाइएको छ ।




प्रतिक्रिया