काठमाण्डु – सरकारले आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । हिजो शनिबारसम्म १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै लगाइएको फाइजर खोप आजदेखि सर्वसाधारण बालबालिकालाई दिन थालिएकाे हो ।
स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले आजबाट १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका र दीर्घ रोगी भए १२ वर्षमाथिका सबै उमेर समूहका लागि यो खोप दिने व्यावस्था मिलाइएको जानकारी दिए । स्वास्थ्य कार्यालय काठमाण्डुले पनि थोरै मात्रा खोप बाँकी रहेकाले पहिले आउनेलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइने बताएको छ ।
फाइजरका लागि तोकिएका पाँच वटा खोप केन्द्रमा प्रतिकेन्द्र साढे ५ सयको हाराहारीमा खोप मौज्दात रहेकाले करिब २७ देखि २८ सय बालबालिकाले मात्रै खोप पाउन सक्ने स्वास्थ्य कार्यालय काठमाण्डुका प्रमुख शम्भु काफ्लेले बताए । कोभ्याक्स सुविधा अन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडण्डु उपत्यकामा ८ र बाहिर १६ वटा गरी कुल २४ वटा अस्पतालमा केन्द्र तोकि गत २८ कात्तिकदेखि लगाउन सुरु गरिएको हो ।




प्रतिक्रिया