काठमाडौँ – बसका छतमा यात्रु राख्ने ४० वटा सवारी साधन र मादक पदार्थ सेवन गरी सवारी चलाउने छजना चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ । राजमार्गमा बिग्रिएका ८७ वटा सवारीलाई र्याकरको माध्यमबाट झिकेर सडक सुचारु गरिएको छ ।
दसैं मान्न उपत्यकाबाट करिब १९ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार शुक्रबार साँझसम्म १८ लाख ७१ हजार ८ सय ७५ यात्रु बाहिरिएका छन् । यो संख्या असोज ५ मा टिकट बुकिङ खुला भएयताको हो । यात्रु लगेर १ लाख ९० हजार ९ सय ९४ सवारी साधन उपत्यका बाहिरिएका छन् ।
यो अवधिमा ९ लाख ५२ हजार ५ सय ४५ यात्रु काठमाडौं भित्रिएका छन् । १ लाख ६४ हजार ७ सय २५ गाडी भित्रिएका छन् । यसमा निजी सवारी साधनको संख्यासमेत रहेको ट्राफिक प्रहरीले जनाएको छ । रुटका गाडी कम चल्न थालेपछि काठमाडौंका यात्रु भने मर्कामा परेका छन् । थोरै गाडीले कोचाकोच यात्रु बोक्ने गरेका छन् ।
ट्याक्सीले भने मनपरी भाडा लिएर यात्रुलाई उल्टै सास्ती दिँदै आएको गुनासो बढेको छ । रुटका गाडी कम चल्दा ट्याक्सीले भाडामा बार्गेनिङ गरिरहेको यात्रुले बताए । याे समाचार कान्तिपुर दैनिकमा छ ।




प्रतिक्रिया