उपत्यकाका बजारमा ‘डेट एक्सपायर’ खाद्य सामग्री

उपत्यकाका बजारमा ‘डेट एक्सपायर’ खाद्य सामग्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसको बढ्दो संक्रमणको मौका छोपी बजारमा म्याद गुज्रिएका हर्लिक्स, बिस्कुट, चकलेट र बेकरीसम्बन्धी खाद्य सामग्री पठाउने गिरोह नै सक्रिय भएको खुलेको छ । बजारमा पहिले नै पठाइएका तर हाल डेट एक्सपायर भएका ओरियो बिस्कुट, हर्लिक्स, किन्डर ज्वय, स्निकर्स, वाउन्टी चकलेट, ट्याङ जुससहित म्याद सकिएका बेकरीसम्बन्धी खाद्य सामग्रीमा पुनः नयाँ म्याद राखेर बजारमा पठाइने गरेको पाइएको हो ।

प्रहरीले आइतबार मात्रै करिब १४ सय प्रकारका त्यस्ता खाद्य सामग्री भेटिएको जनाएको छ । गिरोहले त्यस्ता सामग्री बजारबाट उठाएर महामारीको मौका छोपी नयाँ उत्पादन मिति र गुज्रने म्यादको मिति राखेर लेभलिङ गरी बजारमा पठाउने गरेको पाइएको प्रहरीको भनाइ छ ।

प्रहरीले आइतबार कलंकी क्षेत्रमा सिल गरेको एक घरको गोदाममा राखिएको १४ सय प्रकारका सामग्रीमध्ये १ सय ४१ प्रकारका सामग्रीको पहिचान गरेको हो । अन्य सामग्री भने पहिचान हुँदै छ ।

प्रहरीले विशेष सूचना र दुई हप्ताको सूक्ष्म अनुसन्धानपछि आइतबार तथा गत बिहीबार गरेको अप्रेसनका क्रममा राजधानीका कलंकी र बाफल क्षेत्रबाट गरी करिब २५ करोड मूल्य बराबरका सामानमा नयाँ डेटसहितको लेभलिङ गर्दै गर्दा सिल गरिएको जनाएको छ ।

आइतबार मात्रै कलंकीको एएसटी प्रालिको गोदामबाट करिब ४ करोड मूल्य बराबरको त्यस्ता खाद्य सामग्री बरामद भएको थियो । सो गोदाममा तेल, चेरी, पिठो जस्ता बेकरी सामानमा नयाँ लेभलिङ गर्दैै गरिएको अवस्थामा छापा हानिएको कालिमाटीका डीएसपी अपिलराज बोहोराले जानकारी दिए ।

प्रहरीले सो कार्यमा संलग्न भएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत समस्तीपुर, विहारका ५२ वर्षीय अनिलकुमार बंका, आनन्दकुमार अवस्थी, रस्मिता श्रेष्ठ र विनोद ओझा छन् । अवस्थी लेखापाल, श्रेष्ठ म्यानेजर र ओझा स्टोर किपर हुन् ।

पक्राउ परेका बंकासहित हाल फरार प्रविन बंका र किरणदेवी अग्रवाल गरी तीन जनाको नाममा गोदाम छ । फरार अन्य सञ्चालकलाई भने प्रहरीले खोजी गरिरहेको छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।