काठमाण्डु-सोमबार रातिदेखिको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका नदी, खोलामा बाढी आएको छ । बागमती र यसका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुमा बाढी आउँदा तटीय क्षेत्रका बस्तीमा पानी पस्न थालेको हो ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुमा जलसतह सतर्कता तहमाथि छ । बागमती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको हो ।
विभागका अनुसार सोमबार रातिदेखि हालसम्म काठमाडौंमा भारी वर्षा भएको छ । ललितपुरको गोदावरीमा १३० मिलिमिटर वर्षा भएको छ ।
बहाव अझै बढ्दो क्रममा रहेकाले उपत्यकाका नदी तटीय क्षेत्रमा साँझसम्म अति उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । साथै नदीकिनारको सडकबाट यात्रा नगर्न पनि महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया