काठमाण्डु – काठमाण्डु उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । सरकारले निषेधाज्ञालाई थप खुकुलो बनाउँदै निजी सवारी साधन सञ्चालनको अनुमति दिएको छ । आज तीन जिल्लाका सीडीओहरुको बैठकले निजी सवारी जोर-बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको हो ।
निजी गाडीमा यात्रा गर्दा बढीमा ४ जनालाई अनुमति दिइने ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले बताए । यस्तै, मोटरसाइकलमा दुइ जनाले यात्रा गर्न सक्ने जनाइएको छ ।
त्यसैगरी आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।
सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् । बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको निरौलाले बताए ।




प्रतिक्रिया