उच्च सतर्कताले उपत्यकाका सुरक्षित

उच्च सतर्कताले उपत्यकाका सुरक्षित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – सरकार र स्थानीय तहले चालेको प्रभावकारी कदम र उच्च सतर्कताले राजधानी उपत्यका सुरक्षित देखिएको छ । राजधानीका केही स्थानीय तहमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिए पनि नियन्त्रणमा आइसकेको छ । उपत्यकाका ललितपुर र भक्तपुरमा भने अहिलेसम्म सङ्क्रमण देखिएको छैन ।

काठमाडौँ जिल्ला समन्वय समितिले सरकार, मातहतका निकाय, स्थानीय तह लगायतको संयुक्त प्रयासबाट राजधानीमा कोरोना नियन्त्रणमा आएको स्पष्ट पारेको छ । स्थानीय तहका जनप्रतिनिधि लगायतका सरोकारवालाले उच्च सतर्कता अपनाएकाले कोरोना सङ्क्रमण फैलिन नपाएको हो । गत दुई हप्ताअघि कागेश्वरी मनोहरा नगरपालिकामा वडा नं. ९ स्थित सनसिटी अपार्टमेन्टका दुई जनाको पीसीआर पोजेटिभ देखिएको थियो । तर दुवै जना अहिले उपचारपछि घर फर्किसकेका छन् ।

काठमाडौँका ११ वटा स्थानीय तहमा कुल दुई हजार २२६ जनाको आरडीटी परीक्षण गरिएकोमा दुई हजार २२२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कागेश्वरी मनोहरा नगरपालिकामा तीन जनाको आरडीटी पोजेटिभ र बूूढानीलकण्ठ नगरपालिकामा एक जनाको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ र पीसीआर नेगेटिभ आएको हो । यहाँका ११ वटै स्थानीय तहले गत फागुन ३० देखि विदेशबाट आएका र उनीहरूको सम्पर्कमा रहेका व्यक्तिको समेत आरडीटी परीक्षण गरेको काठमाडौँ जिल्ला समन्वय समितिले जनाएको छ  ।

काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले जिससले सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) गठन गरी जिल्लाभित्र कोरोना भाइरस सङ्क्रमण फैलिन नदिने कार्य र बन्दाबन्दीबाट प्रभावित नागरिकको सम्पूर्ण विवरण सङ्कलनलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।