काठमाण्डु- टी-२० विश्वकप क्रिकेटमा इङ्ग्ल्याण्डलाई हराउदैँ भारत फाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार बिहीबार राति भएको खेलमा इङ्ग्ल्याण्डलाई हराउदैँ भारत फाइनलमा पुगेको हो ।
भारत १० वर्षपछि टी २० विश्वकपको फाइनलमा पुग्न सफल भयो । भारत यसअघि २००७ मा भएको टी २० विश्वकपको उपाधि जित्दा २०१४ मा भने भारत श्रीलंकासँग फाइनमा पराजित भएको थियो ।
प्रोभिडेन्स स्टेडियम गुयानामा भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई १७२ रनको लक्ष्य दिएको थियो । भारतका बलरसामु इङ्ग्ल्याण्डका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । ब्याट्सम्यान चल्न नसकेपछि इङ्ग्ल्याण्ड १६.४ ओभरमा सबै विकेट गुमाएर १०३ रनमा अलआउट भएको हो ।
इंग्ल्यान्डका ह्यारी ब्रुकले २५ रन बनाए । कप्तान जस बटलरले २३, जोफ्रा आर्चरले २१ र लियम लिभिङस्टोनले ११ रन थपे । यसबाहेक, इंग्लिस टिमका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् ।
इंग्ल्यान्डलाई सस्तैमा रोक्न भारतका स्पिनर हाबी बने । भारतका अक्षर पटेल र कुलदीप यादवले समान तीन विकेट लिए । जसप्रित बुमराहको नाममा एक विकेट रह्यो ।
त्यसअघि कप्तान रोहित शर्माले अर्धशतक बनाउँदा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७१ रनको योगफल खडा गरेको थियो ।
भारतका कप्तान तथा ओपनर ब्याटर रोहितले ५७ रन बनाए । उनले ३९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । जारी विश्वकपमा रोहितको यो तेस्रो अर्धशतक हो । उनले यसअघि सुपर–८ को अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध ९२ रन बनाएका थिए ।
इंग्ल्यान्डविरुद्ध भारत ४०–२ को अवस्थामा हुँदा रोहितले तेस्रो विकेटका लागि सूर्यकुमार यादवसँग ७३ रनको साझेदारी गर्दै भारतको इनिङ सम्हालेका थिए । अर्धशतक बनाउन तीन रनले चुकेका सूर्यले ३६ बलमा चार चौका र दुई छक्कासहित ४७ रन थपे ।
यसबाहेक, हार्दिक पन्ड्याले २३ र रविन्द्र जडेजाले १७ रन जोडे । भारतका अर्का ओपनर विराट कोहली भने आज पनि चल्न सकेनन् । नौ बलमा नौ रन बनाएर आउट हुनुअघि विराटले एउटामात्र छक्का प्रहार गरे । यसअघि सुपर–८ को अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध पनि विराट ‘डक’ भएका थिए । इंग्ल्यान्डविरुद्ध भारतका शिवम दुवे ‘गोल्डेन डक’ भए । ऋषव पन्तले चार रन थप्दा अक्षर पटेलले १० रन थपे । अर्शदीप सिंह एक रनमा अविजित रहे ।




प्रतिक्रिया