निरंकुशतालाई रोक्न र प्रतिगमन सच्याउनका लागि गठबन्धन बनाएका हौं : वर्षमान पुन

निरंकुशतालाई रोक्न र प्रतिगमन सच्याउनका लागि गठबन्धन बनाएका हौं : वर्षमान पुन

ओलीको घमण्ड र अहंकारले ५ वर्ष खेर गयाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले निरंकुशतालाई रोक्न र प्रतिगमन सच्याउनका लागि गठबन्धन निर्माण भएको बताएका छन् ।

लोकतान्त्रिक वाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा पुनले जनताको अधिकार संरक्षण र संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै गठबन्धन पाँच वर्षसम्म जाने बताएका हुन् ।

२०७४ को निर्वाचनबाट जनताले स्थिरता र विकासका लागि मत दिए पनि तत्कालीन प्रधानमन्त्री केपी ओलीको घमण्ड र अहंकारले ५ वर्ष खेर गएको उनको भनाइ थियो।उनले ओलीमा निरंकुश चरित्र भएको आरोप लगाए।

‘५ वर्ष एक ढंगले खेर गयो। हामीले समयको सदुपयोग गर्न सकेनौँ। अघि हिँड्ने मानिस सही ढंगले हिँडेन र बाटो बिरायो भने अरुले दुःख पाउँछ। अघि हिँड्नेले घमण्ड गर्दा अरुले दुःख पाए,’ उनले भने, ‘ओलीमा निरंकुशता र व्यक्तिवादको भूत सवार भयो। म एक्लैले दुनियाँ थामेको छु जस्तो गर्न थाल्नुभयो। ओलीतन्त्रविरूद्ध यो गठबन्धन बनेको छ, कम्तिमा ५ वर्षसम्म गठबन्धन रहन्छ।’

ओलीले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आनाकानी गरेको आरोप उनको थियो। ‘गुप्तचर, राजश्व अनुसन्धान विभागसहितका निकाय केन्द्रित गरेर निरंकुश शासकले जस्तै शासन गर्नुभयो। मन्त्रीहरुलाई सामान्य कारिन्दाजस्तो व्यवहार गर्ने। सचिवहरुमार्फत काम गरेर पेन्डुलम बनाउने, प्रदेश सरकारहरुलाई मातहतका सरकारजस्तो बनाउने। स्थनीय सरकारको कुनै भाउ नहुने अवस्था उहाँले नै ल्याउनुभयो। बुद्धिजीवीलाई गाली गर्दै हिँड्नुभयो। आलोचना र सुझावलाई ग्रहण गर्नुको साटो बुद्धिजीवीलाई आऊ बहस गर्न कुन भाषामा आउँछौं भनेर चुनौती दिनुभयो,’ उनले भने।

ओलीले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत काम गरेको पनि पुनको आरोप थियो। न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा हस्तक्षेप गरेको आरोप पुनको छ। पार्टीभित्रको अन्तरसंघर्षलाई देखाएर ओलीले दुईपटक संसद विघटन गरेको पुनको भनाइ छ।