काठमाण्डु – भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर अमेरिकाले न्यूयोर्क पुर्याएको छ । मदुरोलाई राजधानी कराकसबाट हेलिकप्टरमा उडाएर क्यारिबियन सागरको अज्ञात ठाउँमा अमेरिकाको इवो जिमामा लगिएको थियो ।
त्यसपछि उनलाई क्युबाको ग्वान्टानामो खाडी अमेरिकी नौसेना बेसमा पुर्याइएपछि अर्को विमानमा न्यूयोर्क राज्यको ओरेन्ज काउन्टीमा रहेको स्टीवर्ट एयर फोर्स बेसमा लगिएको बीबीसीले उल्लेख गरेको छ ।
समग्रमा राष्ट्रपति मदुरो पक्राउ परेदेखि अमेरिकामा अवतरण गरेसम्म २ हजार १ सय माइल अर्थात् ३ हजार ३ सय किलोमिटरको यात्रा गरेका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘आँखामा पट्टी बाँधिएको’ मदुरोको तस्बिर आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसियल मा सार्वजनिक गरेका थिए ।
अब भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
साथै उनले भेनेजुएलाको विशाल कच्चा तेल भण्डार उत्खननका लागि अमेरिकी तेल कम्पनीहरूलाई तत्काल अनुमति दिने घोषणासमेत गरेका छन् ।
न्यूयोर्क टाइम्ससँग कुरा गर्दै ट्रम्पले यसलाई एउटा शानदार अपरेसनको संज्ञा दिएका छन् ।
भेनेजुएलामा अमेरिकी आक्रमण र मदुरो पक्राउ परेपछि विश्व समुदाय भने विभाजित देखिएको छ । रुस र इरानले यो सैन्य कारबाहीको कडा शब्दमा निन्दा गरेका छन् ।
अमेरिकाको सहयोगी देश फ्रान्स र युरोपेली संघ (ईयू)ले समेत यस कदमप्रति गम्भीर चिन्ता र संशय व्यक्त गरेका छन् । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायत ‘कुनै पनि हिसाबले संलग्न नभएको’ बताउनुभएको बीबीसीले जनाएको छ ।
चीनले भेनेजुएलामा अमेरिकाले गरेको आक्रमण र त्यसका राष्ट्रपतिमाथि गरिएको कारबाहीको कडा शब्दमा निन्दा गरेको छ । यस्तै स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ‘तनाव वृद्धितर्फ जिम्मेवार’ बन्नका लागि आह्वान गरेका छन् ।
अमेरिकामा दोश्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएदेखि नै ट्रम्पले भेनेजुएलामा सत्ता परिवर्तन हुनुपर्ने विषय उठाउँदै आइरहेका थिए ।
ट्रम्पको पहिलो कार्यकालमै मदुरोसँग सम्बन्ध राम्रो थिएन । मदुरोले अमेरिकामा लागूऔषध तस्करी गराइरहेको आरोप लगाउँदै आएको अमेरिकाले अब न्यूयोर्कमा उनी र उनकी पत्नी सिलिया फ्लोरेसमाथि मुद्दा चलाउने बताएको छ ।
ट्रम्पले सार्वजनिक गरेको तस्बिरमा ६३ वर्षीय मदुरोले ट्रयाक सुट लगाएको र एउटा प्लास्टिकको पानीको बोतल समातिरहेको अवस्थामा देखिएका थिए ।
भेनेजुएला सरकारले आक्रमणलाई वासिङ्टनको ‘अत्यन्त गम्भीर सैन्य आक्रमण’ भन्दै देशमा संकटकालको घोषणा गरेको छ ।




प्रतिक्रिया