काठमाण्डु – भेनेजुएलामा बुधबार गएको शक्तिशाली भूकम्पबाट अहिलेसम्म ९२० जनाको मृत्यु भएको छ भने ३ हजार ३६० जना घाइते भएका छन् ।
भेनेजुएला सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ९२० जनाको मृत्यु र ३ हजार ३६० जना घाइते भएका हुन् ।
भूकम्पपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ । प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ भने घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
लगातारका परकम्पका कारण भग्नावशेषमा फसेकाहरूको उद्धार कार्यमा समेत कठिनाइ भइरहेको छ । भूकम्पका कारण व्यापक क्षति पुगेको छ । राजधानी काराकासका केही क्षेत्र पूर्ण रूपमा ध्वस्त भएका छन् ।
देशको उत्तरी क्षेत्रमा आएका दुई शक्तिशाली भूकम्पका कारण राजधानी कराकाससहित दर्जनौँ भवन पूर्ण रूपमा ध्वस्त भएका छन् ।
बुधबार केही सेकेन्डको अन्तरालमा भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको थियो । तीमध्ये दोस्रो भूकम्पको तीव्रता ७.५ मापन गरिएको थियो, जुन पछिल्लो एक शताब्दीमा देशमा आएका सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजधानी कराकासको उत्तरमा रहेको ला गुआइरा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । सो क्षेत्र देशका दुई प्रमुख समुद्री बन्दरगाहमध्ये एक रहेको छ ।
यसै क्षेत्रमा भेनेजुएलाको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल पनि रहेको छ, जुन माइकेतिया क्षेत्रमा अवस्थित छ ।
भूकम्पपछि अझै पनि धेरै व्यक्ति बेपत्ता रहेका छन् । उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।
भग्नावशेषमा खोजी जारी
भूकम्पलाई भेनेजुएलामा पछिल्लो १२५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प भनिएको छ । यस विपत्तिले देशभर ठूलो विनाश मच्चाएको छ । धेरै भवनहरू पूर्ण रूपमा भत्किएका छन् भने पूरै बस्तीहरू ध्वस्त भएका छन् । हजारौं परिवारको सपना भग्नावशेषमा पुरिएको छ ।
भग्नावशेषमा मानिसहरू आफ्ना आफन्तको खोजीमा छन् भने धेरै परिवार एकअर्कासँग सम्पर्कविहीन भएका छन् ।
५० हजारभन्दा बढी बेपत्ता
अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार मृतक र घाइतेको कुल संख्या १० हजारभन्दा बढी पुग्न सक्छ ।
हालसम्म कम्तीमा ३,३६० जना घाइते भएको जानकारी प्राप्त भएको छ भने १७२ भन्दा बढी मानिस अझै भग्नावशेषमुनि फसेको बताइएको छ । भेनेजुएला सरकारका अनुसार बेपत्ता हुनेको संख्या ५० हजार नाघेको छ ।




प्रतिक्रिया