भेन्टिलेटर अभावमा ज्यान गुमाउँदै संक्रमित


बुटवल – बुटवल १ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार बिहान मृत्यु भयो।असोज २२ गते संक्रमण पुष्टि हुँदा नै उनलाइ श्वासप्रश्वास र निमोनियाको समस्या थियो।उपचारमा खटिएका चिकित्सकका अनुसार उनी सुरुमै आइसियुमा राखेर उपचार गर्नुपर्ने बिरामी हुन्।तर अस्पतलाका आइसियु बेड खाली थिएनन्।

आइतबार बिहानै बुटवलकै अर्का एक पुरुषको उपचारकै लागि दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकृत डा. बिष्णु गौतमका अनुसार बुटवल छँदै ती बिरामीको अवस्था जटिल थियो।उनलाई जतिबेला पनि आइसीयु र भेन्टिलेटरको आवश्यकता पर्ने देखिएपछि दाङ पठाइयो।तर कपिलवस्तुको धानखोला नपुग्दै एम्बुलेन्समै उनको मृत्यु भयो।

यसअघि शनिबार तिलोत्तमा ३ की ६६ वर्षीया महिलाको पनि समयमै उपचार नपाएर मृत्यु भएको थियो।बुटवल तथा भैरहवाका कोरोना अस्पतालमा बेड खाली नहुँदा उनलाई होम आइसोलेसनमै राखिएको थियो।

प्रदेशमा पछिल्लोसमय लक्षणसहितका गम्भीर अवस्थाका संक्रमितको संख्या बढ्दो छ।तर यहाँका अस्पतालहरूको सेवासुविधा विस्तार भएकै छैन।जसका कारण समयमै उपचार नपाएर संक्रमितले ज्यान गुमाइरहेका छन ।प्रदेशमा कोरोना संक्रमणबाट १०३ जनाको मृत्यु भइसककेको छ।विशेषगरी आर्थिक अवस्था कमजोर भएका बिरामीहरूले आइसियुको पालो कुर्दाकुर्दै ज्यान गुमाउनुपर्ने अवस्था रहेकोअस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए।‘आर्थिक अवस्था राम्रो हुनेहरूले काठमाडौं पनि पुर्याउन सक्छन्।तर मारमा पर्ने गरिब बिपन्न नै हुन्,’ डा. थापाले भने।कोरोना संक्रमितको उपचार गर्ने अस्पतालका बेड भरिएका छन्।यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement