श्रीमतीलाई भान्से राखेर तलब खुवाएका उपमेयरले फिर्ता गरे ९६ हजार


ताप्लेजुङ्ग – ताप्लेजुङको फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईले श्रीमतीलाई भान्से नियुक्त गरेर खुवाउँदै आएको तलब एकमुष्ट फिर्ता गरेका छन् । उपमेयर भट्टराईले १ साउनदेखि श्रीमती बालकुमारी कार्की भट्टराईलाई भान्से नियुक्त गरेर मासिक १५ हजार ५ सय ९० रुपैयाँका दरले अहिलेसम्म दिएको ९६ हजार रुपैयाँ फिर्ता गरेका हुन् ।

उपमेयर भट्टराईले मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी आफूबाट गल्ती भएको स्विकार्दै श्रीमतीले बुझेको ९६ हजार नगरपालिकाको सञ्चित कोष खातामा जम्मा गरेको बताए । समयमै ऐन, कानुन, नीतिनियम, कार्यविधि, निर्देशिका उपलब्ध नहुँदा गल्ती भएको उनले बताएका छन् । गत आइतबार नयाँ पत्रिकामा फुङलिङ नगरपालिकाका मेयरले सालीलाई र उपमेयरले श्रीमतीलाई भान्से नियुक्त गरेर तलब खुवाउँदै आएको समाचार छापिएको थियो ।

सरकारी रकमले निजी घर रंग्याउने र सालीलाई भान्से राख्ने मेयर भन्छन्, ‘गल्ती भएका छन्, सच्याउँदै जान्छौँ’
मेयर छत्रपति प्याकुरेलले जानी–नजानी कतिपय गल्ती भएकाले सच्याउँदै जाने बताए । पहिलो जनप्रतिनिधि भएका कारण नियम–कानुन नबुझेर पनि गल्ती भएको उनको भनाइ छ । ‘सबै अडिट रिपोर्ट हामीले हेरेका छैनौँ, बेरुजु देखिएको रकम तिर्छौँ,’ उनले भने ।

प्याकुरेलले स्थानीय कुमार मादेनलाई नियमविपरीत सल्लाहकार नियुक्त गरी गत आर्थिक वर्षमा मात्रै तीन लाख भुक्तानी दिएको, आफ्नो निजी घर मर्मतमा सरकारी कोषको ९ लाख खर्च गरेको र साली मथुरा श्रेष्ठलाई कार्यालय सहयोगीका रूपमा नियुक्त गरेर घरमा भान्से बनाएको समाचार नयाँ पत्रिकामा छापिएको थियो ।

मंगलबार नै नगर कार्यसमितिको बैठक पनि बसेको छ । बैठकले गल्ती–कमजोरी सुधारेर जाने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ । प्रारम्भिक अडिट रिपोर्ट अध्ययन गरी त्यहाँ  भएका कमी–कमजोरी सच्याएर अघि बढ्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

वास्तविकता सार्वजनिक गर्न विद्यार्थीको २४ घन्टे अल्टिमेटम
यसैबीच, अनेरास्ववियुले मेयर प्याकुरेललाई ज्ञापनपत्र बुझाउँदै सञ्चारमाध्यममा आएको अनियमितताबारे यथार्थ सार्वजनिक गर्न २४ घन्टे अल्टिमेटम दिएको छ । सत्यतथ्य बाहिर नल्याए नगरपालिकामा तालाबन्दी गर्ने चेतावनी विद्यार्थीले दिएका छन् । यो समाचार आजको नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement