काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले इसाइ धर्मावलम्बीको महान् पर्व क्रिसमस डेको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाइ धर्मावलम्बी नेपाली दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र रहेको चर्चा गर्दै लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था नेपाली जनताले लामो सङ्घर्षपछि प्राप्त गरेका उपलब्धि हुन् भने ।
उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीमगरद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, “हाम्रो संविधानले सबै प्रकारका धर्म संस्कृतिप्रति आस्था राख्न र त्यसको संरक्षण, सम्बद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ तर, कसैलाई करकाप वा प्रलोभनमा पारी धर्म परिवर्तन गर्न गराउन भने पाइँदैन ।”
विज्ञप्तिमा विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको चर्चा गर्दै पर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा लिएको जनाइएको छ
“क्रिसमसडेले सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै प्रगति पथमा अघि बढ्न हामी सबैलाई ऊर्जा एवं उमङ्ग प्रदान गरोस् भनी कामना गर्दछु ।” विज्ञप्तिमा उपराष्ट्रपति पुनले भनेका छन् ।




प्रतिक्रिया