तमिलनाडुको मुख्यमन्त्रीमा विजय नियुक्त, भोलि शपथ ग्रहण

तमिलनाडुको मुख्यमन्त्रीमा विजय नियुक्त, भोलि शपथ ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चेन्नई – तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरले ‘तमिलगा भेत्री कलगम’ (टीभीके) प्रमुख विजय थलपतिलाई राज्यको नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।

तमिलनाडु लोक भवनले नियुक्तिको औपचारिक पुष्टि गर्दै विजयको शपथ ग्रहण समारोह आगामी आइतबार बिहान १० बजे चेन्नईको नेहरु स्टेडियममा आयोजना हुने जनाएको छ ।

नवनियुक्त मुख्यमन्त्रीले आगामी १३ मेसम्ममा विधानसभामा विश्वासको मत पेश गर्नुपर्ने समयसीमा तोकिएको छ ।

सरकार गठनका लागि आवश्यक बहुमत अर्थात् १२० भन्दा बढी विधायकहरूको समर्थन प्राप्त गरेपछि टीभीके नेता विजयले राज्यपाल राजेन्द्र अर्लेकरलाई भेटेर सरकार बनाउने दाबी पेश गरेका थिए । भेटका क्रममा विजयले आफ्नो पार्टीलाई समर्थन गर्ने दलहरूको पत्र समेत बुझाएका थिए ।

यसअघि तमिलनाडुमा कांग्रेस र वामपन्थी दलहरू (सीपीआई र सीपीएम) पछि भीसीके र इन्डियन युनियन मुस्लिम लिगले पनि टीभीकेलाई समर्थन गर्ने घोषणा गरेका थिए । भीसीकेका नेता थल थिरुमावलवनले टीभीके नेता अधव अर्जुनलाई समर्थन पत्र हस्तान्तरण गरेका थिए ।

समर्थन प्राप्त भएपछि टीभीके नेता अधव अर्जुनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस, वामपन्थी दल र भीसीकेलाई धन्यवाद दिए । उनले लोकतन्त्रको रक्षा गरिने प्रतिबद्धता जनाउँदै विजय जनताको पूर्ण समर्थनका साथ तमिलनाडुको मुख्यमन्त्री बन्न लागेको बताए ।

दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता विजयले राजनीतिमा प्रवेश गरेसँगै तमिलनाडुको राजनीतिमा ठूलो परिवर्तन आएको छ । उनको शपथ ग्रहणका लागि भव्य तयारी सुरु गरिएको छ ।